विदेशी उत्पादनको आयात रोकिँदा पनि स्वदेशी छाला जुत्ता उद्योग संकटमा

बुधबार, असाेज २८, २०७७
यसपालीको दसैँ–तिहारमा शून्य व्यापार
काठमाडौं । यतिखेर नेपाली छाला जुत्ता तथा फुटवेयर उत्पादक उद्योगहरु गम्भीर समस्यामा परेका छन् । कोभिड–१९ को प्रभाव छाला जुत्ताको उत्पादनदेखि बजारीकरणमा समेत परेपछि झण्डै एक हजार ६०० को हाराहारीमा रहेका स्वदेशी छाला जुत्ता तथा फुटवेयर उद्योग समस्यामा परेका छन् ।
फुटवेयर मेनुफेक्चरिङ एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुँयाल कोभिड–१९ का कारण छाला जुत्ता उत्पादनमै समस्या उत्पन्न भएको बताउँछन् । ‘कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण बजारको समस्या त छँदैछ, यहाँ त छाला जुत्ताको उत्पादनमै समस्या देखियो,’ मनासलुसँग उनले भने, ‘एकातिर उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अभाव छ भने अर्कोतर्फ आवश्यक श्रमशक्ति र पुँजीको समेत अभाव छ । यस्तो अवस्थामा कसरी उत्पादनमा जाने ?’
अहिलेको अवस्थामा फुटवेयर उद्योगमध्ये करिब ५० प्रतिशतमात्र सञ्चालन भइरहेको उनी बताउँछन् । ती उद्योगबाट पनि पूर्ण क्षमतामा नभई करिब २० प्रतिशतमात्र उत्पादन भइरहेको उनको भनाइ छ । ‘त्यसमा पनि कोभिड–१९ का कारण उत्पादित जुत्ताहरुले बजार पाउन सकेका छैनन्,’ फुँयालले भने ।
त्यसो त अहिलेको अवस्थामा विदेशी उत्पादनहरुको आयात रोकिएको छ । विदेशी उत्पादन नआएको अवस्थामा स्वदेशी उत्पादनले समेत बजार नपाउनु आफैमा दुःखद विषय भएको फुँयालले बताए । कोभिड–१९ का कारण विभिन्न मुलुकबाट आउने फेन्सी आइटम, लत्ता–कपडा तथा जुत्ताहरु यसपाली उतै रोकिएको अवस्था छ । यसका बाबजुद स्वदेशी उत्पादनले समेत बजार पाउन नसकिरहेको फुँयालको भनाइ छ ।

‘वार्षिक उत्पादनको तथ्याङ्क र खपतका हिसाबले वर्षभरीमा करिब ८ देखि १० करोड जोर जुत्ताको माग रहने गर्छ । यसमा स्वदेशी उत्पादनले मात्र करिब ६० देखि ६५ प्रतिशत माग धानेको अवस्था छ । तर अहिले बजारकै कारण उत्पादनमा जान सकिएको छैन,’ उनले भने, ‘विस्तारै आत्मनिर्भरतर्फ उन्मुख फुटवेयर व्यवसाय पुनः खस्किने हो कि भन्ने चिन्ता थपेको छ ।

’यता स्वदेशी छाला जुत्ता उत्पादनलाई नै प्राथमिकता दिँदै आएका व्यवसायी तथा कोसेली फुटवेयरका उत्पादक रविन श्रेष्ठ कोभिड–१९का कारण फुटवेयर उद्योगहरु गम्भीर संकटमा फसेको बताउँछन् । कोभिड–१९का कारण धरासायी भएका उद्योगलाई सरकारले ल्याएको आर्थिक राहत प्याकेजले समेत छुन नसकेको उनको दुखेसो छ ।
‘सरकारले कोभिड–१९ का कारण परेको असर न्यूनीकरण गर्न आर्थिक राहत प्याकेज त ल्यायो तर सबै व्यवसायीका लागि हुन सकेन । हामीजस्ता साना तथा मझौला, त्यसमा पनि घरेलु व्यवसायीहरुलाई त उक्त आर्थिक प्याकेजले छुनै सकेन । सरकारसँग यसमा हाम्रो ठूलो दुखेसो छ ।’
आर्थिक प्याकेज कि त ल्याउँदै नल्याएको भए हुन्थ्यो, ल्याएपछि सबै व्यवसायीलाई समेटेर ल्याएको भए हुन्थ्यो भन्ने उनको भनाइ छ । उनका अनुसार आर्थिक संकटका कारण अहिले सयौं व्यवसायी व्यवसायबाटै पलायन हुने अवस्था आएको छ ।विशेषतः दसैँ–तिहार कै समयमा लत्ता–कपडासँगै जुत्ताको व्यापार राम्रो हुने गर्छ । वर्षदिनमा हुने व्यापारको करिब ४० प्रतिशत हिस्सा त दसैँ–तिहारकै समयमा हुने गर्दछ ।
यो समयमा व्यवसायीहरुले स्वदेशीसँगै विदेशी आइटमहरु समेत ठुलो मात्रामा आयात गरेर व्यापार गर्छन् । तर यसपटक फुटवेयर व्यवसायीमा उत्साह छैन ।
विदेशी उत्पादनको आयातले स्वदेशी उत्पादनलाई विस्थापन ग¥यो भनेर विगतमा विरोध जनाउने उद्योगी–व्यवसायीहरुले समेत यस वर्ष आफ्नै उत्पादन दिन सकेका छैनन् । त्यसो त, उत्पादन नै भए पनि यसपाली व्यापारका लागि उचित वातावरण नभएको फुटवेयर एशोसिएशनका अध्यक्ष फुँयाल बताउँछन् ।
‘यस वर्ष दसैँ–तिहार भनेर उत्साहित बन्ने अवस्था छैन,’ उनले भने, ‘व्यापार हुने भए एक महिना अघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । जिल्ला जिल्लाबाट माग आइसकेको हुन्थ्यो र यतिखेरसम्म त ठाउँठाउँमा वस्तु पठाइसकेका हुन्थ्यौँ । तर यस वर्ष त्यसो हुन सकेन ।’
कोभिड–१९ को प्रभाव अर्थबजारमा परेको छ र उपभोक्ताहरुको क्रयशक्ति घटेका कारण अत्यावश्यक बाहेक अतिरिक्त क्षेत्रमा उपभोक्ताले खर्च गर्न नचाहेको उनको बुझाइ छ । ‘त्यसैले जुत्ताको व्यापार राम्रो हुने त कुरै भएन,’ उनले भने ।
व्यवसायी श्रेष्ठ दसैँ–तिहारले भन्दा पनि कोभिडका कारण शैक्षिक सत्र प्रभावित हुँदा व्यापार चौपट हुन पुगेको बताउँछन् । ‘कोसेली सुजको हकमा दसैँ–तिहारले खासै फरक पार्दैन,’ उनले भने, ‘किनकि हामी स्कुल, कलेज तथा विविध विशिष्ट पार्टी सुजहरुको उत्पादन गर्छौँ । र पनि हामी प्रभावित हुन पुग्यौँ । स्कुल कलेज लाग्ने समयमा सब बन्द भइदिए । बन्दमा विवाह, पाटीँ, सेमिनार, समारोह कुनै पनि गतिविधि भएनन् । जसले गर्दा हाम्रो व्यवसाय प्रभावित हुन पुग्यो ।’
हाल नेपालमा फुटवेयर (जुत्ता चप्पल) को बजार झण्डै सवा खर्ब बराबरको रहेको व्यवसायीहरुको भनाइ छ । व्यवसायी तथा फुटवेयर उत्पादक संघका अध्यक्षकै भनाइअनुसार नेपालमा वार्षिक झण्डै १० करोड जोर जुत्ता तथा चप्पलको माग छ ।
यसमा करिब ४० देखि ४५ प्रतिशत उत्पादन बाहिरी मुलुकबाट आयात हुने गरेको छ भने ६० देखि ६५ प्रतिशत माग स्वदेशी उत्पादनले धानेको छ ।जबकी आजभन्दा ८–१० वर्ष पहिलेसम्म कुल मागको ९० देखि ९५ प्रतिशत विदेशी उत्पादनले धानेको अवस्था रहेको अध्यक्ष फँुयालको भनाइ छ ।
हाल नेपाली फुटवेयर उद्योगहरु तयारी उत्पादनमा मात्र नभएर कच्चा पदार्थ उत्पादनमा समेत आत्मनिर्भर हुँदै गएको फुँयालले बताए ।