गाेरखामा राम बहादुरले बजाएकाे सारङ्गीले अदालतकाे मुद्दा जित्याे

शनिबार, कार्तिक १, २०७७

मेरी हजुरआमा बित्नुभएको थियो, जब हो कि होइन भन्ने स्तरको रमरम सम्झना जम्मा गर्न सक्ने उमेरमा थिएँ म । त्यस्तै झल्कोजस्तो लाग्ने सम्झना छ— हजुरआमाको, हाम्रो भेगका एक जना चर्चित ‘गाइने’ लालबहादुरले घरको आँगनमा बसेर हजुरबाको कर्खा गाएको र हजुरआमा फलैंचामा बसेर हत्केलामाथि चिउँडो राखेर सुकसुकाइरहनुभएको ।

धेरैपछि जब घ्याम्पेसाल बजारमा एक दिन लालबहादुरले फेरि गाए हजुरबाको कर्खा, म फेरि पूर्वस्मृतिमा डुबें । हजुरआमाको त्यही हो कि होइनजस्तो सुँक्क–सुक्क सम्झनालाई मनको रिलले घुमाएर ल्यायो ।

त्यसपछि पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारकालीन चर्चित मणिराम गाइनेका दरसन्तान लालबहादुर समयको एउटा लामो खेलोमा कसरी गोर्खाको पाखोबाट उठेर रेडियो नेपाल आइपुगे, राजा महेन्द्रलाई गीत सुनाए र यताको सानसौकत सबै चटक्कै छोडेर मध्यउत्तरी गोर्खाको एउटा टुहुरो पाखोमा अडिन पुगे, रैथाने अवलाहरूको दर्दलाई सारंगीको तार रेट्दै परम्परागत गाइने लयमा आकार दिए भन्ने खोजी गरें । गाउँबाट सहर आउनु, यता स्थापित हुनु, शक्तिशाली पञ्चायती रजगज चलाएर बसेका राजा महेन्द्रसम्म आफ्ना गीत सुनाउन पुग्नु र त्यो सबै चमकधमक छोडेर आजभन्दा ५० वर्षअघि सुटुक्क पूर्णरूपेण ग्रामीण बस्तीमा फर्कनु एउटा दुस्साहसजस्तो थियो ।

त्यसको मोल लालबहादुरले राम्रैसँग चुकाए । यता काठमाडौंमा स्थापित भइसकेका रेडियो नेपालका गायक लालबहादुर बिस्तारै बिर्सिइए । गुमनाम भए, सहरको हल्लीखल्लीबाट । सहरमा हल्लाबाजहरू समक्ष अनुहारको हाजिरी जनाउनुपर्ने, यहाँ बसेर गाउनेलाई मात्र चर्चा दिने परिपाटीको मोल यो सहर छाडेर गाउँ रोज्ने लालबहादुरले चुकाए । आफ्नै भेगमा रमाए । उतैका दमितहरूको वेदनालाई लोकलयमार्फत आवाजको इतिहासमा रेकर्ड गरिदिए । गाउँले अगुवाहरूको कर्मलाई कर्खामार्फत समयको सम्झनाका लागि दर्ता गराइदिए । मेरा हजुरबा रविलाल देवकोटाको कर्खालाई लालबहादुरले त्यही सिलसिलामा सारंगी रेट्दै लय दिएका थिए । उनले आफ्नो भेगका कैयन रविलालहरूको कर्खा फलाकेका थिए । कैयन दुखियाहरूको वेदना भट्याएका थिए ।

तिनको त्यही गुनको पैंचो तिर्न ‘घ्याम्पेसाल–काठमाडौं सेवा समाज’ ले गएको पुस २६ गते काठमाडौंको प्रज्ञा भवनमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ– २०७६’ आयोजना गरेको थियो । मेरा गुरु नारायण बोहरा र मित्र अर्जुन भट्टले आर्थिक, भौतिक जोहो मिलाउन मिहिनेत गरेको कार्यक्रमको सञ्चालन गर्न मञ्चमा उभिएको मलाई कसैले एउटा जानकारी थमायो, गोर्खा पालुङटार, ठाँटीपोखरीका रामबहादुर गन्धर्वबारे । त्यसयताका नौ महिनामा रामबहादुर गन्धर्वबारे मैले जे जानकारी जम्मा गर्न सकें, त्यही विवरणमा यो लेख केन्द्रित रहनेछ ।

राजा महेन्द्रको ‘देशको आत्मा’
रामबहादुर पनि तिनै गोर्खा भाँवाबारीका पृथ्वीनारायण शाहकालीन मणिराम गाइनेका दरसन्तान थिए । मणिराम गाइने र बिसे नगर्ची गोर्खा दरबारमा मंगल र शोक धुन बजाउने वाद्यवादक थिए । तिनले पृथ्वीनारायण नेतृत्वका अनेक युद्धमा सँगै सहभागिता जनाएका थिए । पृथ्वीनारायणसँगै नुवाकोट भिडन्तमा मणिराम सामेल भएको गोर्खालीहरूको सैनिक इतिहास पुस्तकमा उल्लेख भएको पाइन्छ । बिसे नगर्ची युद्धमा सामेल लडाकुहरूलाई हौसला दिन नगरा बजाउँथे । मणिराम (कतै मनिरम पनि उल्लेख गरेको पाइन्छ) वीरताको कर्खा भट्याएर गोर्खाली लडाकुहरूको हौसला बढाउँथे । लडाइँमा हार भए विरह धुन भट्याउँथे । लडाइँमा मारिएका लडाकुहरूको खबर तिनै मणिराम सारंगी रेट्दै शोक धुन निकालेर परिवारलाई सुनाउँथे ।

तिनै मणिराम र उनका खलक गन्धर्वहरू अहिले गोर्खामा यत्रतत्र छरिएका छन् । उनैका दरसन्तानको एउटा लहरोबाट तन्किएको देखिन्छ— रामबहादुर गन्धर्वको परिवार । ठाँटीपोखरी, धारापानी मगरगाउँमा उनका पुर्खाहरू बसोवास गरिआएका थिए । त्यही धारापानीका टिके गन्धर्वका दुई भाइ छोरा भए, लुरे र रामबहादुर गन्धर्व । टिके गन्धर्वका कान्छा छोराका रूपमा रामबहादुरको जन्म विसं १९९३ जेठमा भएको थियो ।

तिनै रामबहादुर विसं २०२२ मा काठमाडौंमा आयोजित गन्धर्व सम्मेलमा भाग लिन गोर्खा भेगका थप दुई गन्धर्वहरू लालबहादुर र वीरबहादुरसँगै पैदल हिँडेर खोपलाङ–चोरकाटे–निवेल–खान्चोक भन्ज्याङ–पन्ध्रकोसे–चरङ्गेफेदी–मामरी–त्रिशूली–बट्टार–रानीपौवा–धरमथली–डुक्रुनेपानी हुँदै बालाजु उत्रिएका थिए, चार दिनको पैदल यात्राबाट । विसं २०२२ अघि महेन्द्रले देशव्यापी लोकगायनको सम्मेलन आयोजना गरेका थिए । त्यसमा सारंगी बजाउने गन्धर्वहरूको उपस्थिति नदेखेपछि महेन्द्रले सम्मेलन आयोजना गर्न खटाइएका धर्मराज थापालाई सोधेका थिए— सबै बाजा आएको देखें तर देशको आत्मा नै छुटेछ धर्मराज !

त्यसपछि राजा महेन्द्रको शब्दमा ‘देशको आत्मा’ अर्थात् सारंगी बजाउने गन्धर्वहरूको राष्ट्रिय सम्मेलन गर्न कस्सिए धर्मराज महेन्द्रको आदेशमा । त्यही छेकोमा गोर्खाबाट बोलाइएका गन्धर्वमध्येमा परेर काठमाडौं उत्रिएका थिए— रामबहादुर ।

जनसाधारणका इतिहासज्ञ
काठमाडौं भेलापछि तीनमहिने तालिम भयो । त्यसबखत गीत रेकर्ड गर्ने, बजाउने एउटै गोरेटो थियो, जो जताबाट तन्किए पनि टुंगिन्थ्यो रेडियो नेपालमा पुगेर । रामबहादुरले पनि त्यसरी केही गीतहरू गाए । रेडियोमा ती गीतहरू बजे उनको संकलनमा, स्वरमा । कति उनको नाममा रेकर्ड भए, कति उनले संकलन गरेको, गाएको गीत पछि अरूले नै गाए, उनलाई संकलकसम्मको श्रेय पनि नदिई ।

रेडियो नेपाल र काठमाडौं उनको स्थायी मुकाम थिएन । यो चिने–खेलेको भूगोल थिएन उनको । रेडियो नेपालले दिने गीतबापतको सामान्य रकमले जिन्दगी चल्न नसकेपछि उनले काठमाडौंका घरघरमा गएर गीत गाउने काम पनि गरे । गाउँघरमा जस्तो दुःखसुखको गीत गाउँदै हिँड्ने गन्धर्वप्रति काठमाडौंमा उति सम्मोहन र आत्मीयता भेटेनन् उनले ।

जनजाति बहुल पहाडी गाउँघरबाट धेरै तन्नेरीहरू भारतीय र बेलायती गोर्खा सैनिकको ‘लाहुर’ मा गएका हुन्थे । रामबहादुरको भेकबाट गुरुङ, मगर, घले, क्षत्रीहरू त्यसरी मुग्लानको लाहुरमा लगिएका हुन्थे, गएका हुन्थे, गाउँगाउँ पसेर रिक्रुट खोजी हिँड्ने ‘गल्ला’ हरूबाट । त्यसबखत त्यसरी लाहुर गएकाहरू विभिन्न देशमा भएका युद्धमा सामेल गराइन्थे । कोही घरमा वृद्ध बा–आमा, कोही आलो सुत्केरी श्रीमती त कोही नवविवाहिता पत्नी छाडेर लाहुर गएका हुन्थे । परिवारको थाप्लोमाथि बज्रिएको गरिबीको निस्लाम चुटाइको दुःख पखाल्न केही सय भारु तलबका लागि उनीहरू अरूकै खातिर लड्थे, अरूकै खातिर मर्थे । कतिपय अंगभंग भएको घाइते शरीर लिएर फर्कन्थे । त्यसरी मरेकाहरूका पल्टनका पल्टने साथीहरूले पठाएको धागोले बाँधिएका चिठीहरू आइपुग्थे महिनौंपछि गाउँघरको ठेगाना खोज्दै खोज्दै । त्यही चिठी वाचिदिन पनि कुरिबस्नुपर्थ्यो गाउँले शिक्षक या साँवा अक्षर फुटाउन सक्ने गाउँमै मुस्किलले भेटिने साक्षरहरू ।

जब धागोले बाँधिएका चिठीहरू पढिन्थे, गोलो लागेर खबर सुन्न थुप्रिएका गाउँले अवलाहरूको कोलाहलपूर्ण रुवावासी सुरु हुन्थ्यो । गाइने दाइहरू नै थिए, जो त्यो वेदनामा मलम लगाउन सारंगीको तार रेटेर विरहको धुन झिक्थे । दुःख तिम्रो मात्रै होइन, अरूमाथि पनि यस्तै भएको छ भन्दै अन्यत्रका त्यस्तै घटनाहरूको बिलौना भट्याउँथे र शोकमा डुबेका परिवार, समाजलाई ढाडस दिन्थे, सान्त्वना दिन्थे । जिन्दगीमा भैपरि आउने शोकहरूलाई समन गरेर जीवनको नियमिततामा फर्कन उत्प्रेरित गर्थे ।

पुरानो घटना सुनाएर नयाँ दुःखीहरूको घाउमा मलम लगाउने कोसिस गर्थे । अनि नयाँ दुःखीहरूको जीवनमा बज्रिएको शोक र घटनाको विवरणलाई सारंगीको विरही धुनमा मिसाएर गाउँगाउँ डुलेर सुनाई हिँड्थे । देशका नागरिकलाई विदेशी फौजमा बेचेर सत्तामा सवार भई मदमस्त अट्टहास गर्नेहरूको नाममा लेखिने इतिहासमा उल्लेख नहुने तमाम अगणित जीवनको हिसाब तिनै गाइने दाइहरूले दर्ता गरिदिन्थे लोकलयका माध्यमबाट गाउँलेका मनमा । पाखो, पखेरोको जीवन चलायमान बनाउन फोकल्यान्ड या मलायाहरूमा रगत बगाएकाहरूलाई नभुलोस् समय, भूगोलले भनेर । गाइनेहरू सूचनाका संवाहक थिए, दुःखसुखका साथी थिए, आफ्नो समयको कथावाचक इतिहासज्ञहरू थिए ।

त्यही कर्मको, योग्यताको, योगदानको जमिनमा उभिएर सुखम–दुःखम जिन्दगी चलाइआएका ग्रामीण गाइने थिए– रामबहादुर । सहरमा रत्तिन सकेनन् । र, फर्किए सहर आउँदा लिएको सारंगी बोकेर आफ्नै माटोमा । संयोग मिलेको बखत काठमाडौं आउने, गाउने र फेरि गोर्खा फर्कने क्रम चली नै रह्यो । त्यही क्रममा उनले गाएका थिए, ‘माछी छ पियारी गंगाको तालैमा’, ‘हेर माया पानको पात’, ‘यो नानीको शिरैमा’, ‘धानको बाला’, ‘जयदेवी भैरवी’, ‘जाइरित्री झमझम’, ‘कौसीमाथि झ्याल’ जस्ता बोल भएका गीतहरू ।


जति गीत गाएका छन् रामबहादुरले, ती हिजोआज प्रचलनमा छैनन् । रेडियो नेपालले ती गीत आफ्नै लाइब्रेरीमा छ भन्ने पनि सायद भुलिसक्यो । उसो त रेडियो नेपालका जागिरेहरूको चाकरी नगर्ने र तीसँग निकटता नहुने आजैका गायकहरूको गीत पनि बजाउँदैन रेडियो नेपालले सितिमिति । रेडियो नेपालको लाइब्रेरीमा भएका र यताका वर्षौंदेखि नसुनिएका गायकबारे सोधीखोजी गर्ने फुर्सद अन्य सञ्चार संस्थासँग पनि नभएको भान हुन्छ ।

अब त झलकमानका गीत नै पनि बजाउन छाडेका छन् सञ्चारमाध्यमले । यसो तिथि, श्राद्धमा सम्झिने, बजाउने कुरा बेग्लै हो । नत्र रामबहादुरका उल्लिखित गीत सदाबहार बजिरहने गीत हुनुनपर्ने कारणै छैन ।

यो माछी छ पियारी गंगाको तालैमा

मारी ल्याइदेऊ पियारी हजुरको जालैमा…

कौसीमाथि झ्याल

कल्ले जान्छ र करिमाको ख्याल…

हेर माया पानको पात

आधी ढिँडो आधी चैं खाउली भात

मर्स्याङ्दी सलल…

यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो

मगमग चल्यो बासना…

 

गीतमा गोलमाल
रामबहादुर स्थानीय घटनाहरूलाई गीत बनाएर सारंगी बजाउँदै भाका हालेर गाउन खप्पिस थिए । त्यस्ता अनेक यथार्थ घटना प्रचलनमा छ, रामबहादुरको गाउँमा । स्थानीय उपप्रधानपञ्च थिए गोपाल गिरी । तिनले ०२५/०२६ सालतिर पृथ्वी राजमार्ग विस्तारका बेला मलेखुमा कामदार सप्लाई गर्ने काम गर्थे । मलेखु–सल्यानटार–पालुङ्टारको यात्रा क्रममा सल्यानटारकी एक विवाहिता महिलासँग उनको पिरती बस्यो । पछि ती महिलालाई लालाबालासहित बिहे गरेर ल्याए गिरीले । गिरीको पनि पहिल्यै विवाह भइसकेको थियो । त्यसले गिरीको परिवारमा निकै झैझगडा उत्पन्न गरायो र गाउँ नै तरंगित बनायो ।

रामबहादुर गाउँघरका यस्तै घटनालाई गीत बनाएर वरपरका कैयन गाउँमा गाउँदै अन्नपात जम्मा गर्दै हिँड्थे कहिले आफ्ना छोरासँग, कहिले श्रीमतीसँग, कहिले एक्लै । गीत गाउँदै उनी बन्दीपुर, दमौली, रिसिङ, डुम्रे, धरमपानीसम्म पुग्थे । तीन, चार घण्टाको दूरीमा छ तनहुँको रिसिङ उनको गाउँबाट । खेतिपाती सकेपछि उनी रिसिङ भेगमा गीत गाउन जान्थे । आफ्नो गाउँ, स्थानीय ठाउँ, देखे–जानेको त्यही गोपाल गिरीको घटनालाई जोरजाम गरेर उनले गाए एउटा गीत, त्यही रिसिङमा गाउँदै डुल्दै हिँड्ने क्रममा—

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो

मगमग चल्यो बासना

अंकुसेले तानौं कि झटारोले हानौं कि

यो नानाीको शिरमै मोहनी

हामी पनि रिसिङको तिमी पनि रिसिङको

लाइदिऊँ माया एकै किसिमको

चोली दिउँला मखमली सारी दिउँला फाइवर

मै हुँ कान्छी रेलको डाइवर

अनिदोले हो कि मोहनीले हो कि

यो नानीको शिरै ढल्केको

पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो

कान्छी ल्याउँदा जेठी जिल खायो…’

यो गीत रामबहादुरले रेडियो नेपालमा पनि गाएका थिए । रामबहादुरकी पत्नी नमकुमारीका अनुसार, उक्त गीत रेडियो नेपालले ०३२/०३३ सालतिर निकै बजाउँथ्यो । तर, रेडियो नेपालमा भने यो गीतका संकलक र गायकमा रामबहादुरको नाम भेटिँदैन । रेडियो नेपालको संगीत लाइब्रेरीको रेकर्डमा प्रेमध्वज प्रधानको नाममा यो गीत दर्ता भएको देखिन्छ, गायकको रूपमा भने संकलकको नाम खाली देखिन्छ (पंक्तिकारले २०७६ चैत ३ गते रेडियो नेपालको संगीत लाइब्रेरी पुगेर गरेको खोजबिन) ।

रेडियो नेपालको डिजिटल संगीत लाइब्रेरीको विवरणअनुसार, रामबहादुरको नाममा दर्ता भएको गीत ‘धानको बाला’ को लाइब्रेरी नम्बर ६१४, ‘माछी छ पियारी’ को २०९, ‘हेर माया पानको पात’ को २६२५, ‘जयदेवी भैरवी’ को २६२८, ‘बाँचुन्जेल तिम्रै’ को ३७३, ‘जाइरित्री झमझम’ को ३३७, ‘कौसीमाथि झ्याल’ को ७०२ छ ।

०३८/०३९ तिर रामबहादुरले गाउँघरतिर भनेका रहेछन्, ‘प्रेमध्वजले २०० दिए अनि गाउन दिएको ।’ यस प्रकरणबारे जानकार अब एक मात्र पात्र जीवित छन्, सुप्रसिद्ध गायक प्रेमध्वज प्रधान । रामबहादुरको निधन विसं २०५५ सालमा भइसकेको छ भने झलकमानको पनि निधन भइसक्यो ।

पंक्तिकारले प्रधानसँग सो प्रकरण र पारिश्रमिकबारे जिज्ञासा राखेको थियो । उनलाई सोधियो, ‘रामबहादुर गन्धर्वलाई उक्त गीत संकलनबापतको पारिश्रमिक रु. दुई सय दिनुभएको हो ?’ प्रेमध्वज भन्छन्, ‘०४० सालतिर झलकमानसँग लिएर मैले रेकर्ड गराएको हुँ । त्यसरी रामबहादुरलाई पैसा दिएर उहाँले गाएको गीत मैले लिएको होइन होला । त्यस्तो कुरा त मलाई सम्झना छैन । मैले त रामबहादुर गन्धर्वलाई चिनेको जस्तो लाग्दैन । अनुहार देखें भनें चिन्थें कि ! धेरै पहिलेको कुरा भएकाले र उमेरजन्य कारणले पनि मैले सम्झन सकिनँ ।’ ‘तपाईंले पैसा दिएर झलकमानमार्फत रामबहादुरको गीत लिनुभएको हो त ?’ भन्ने प्रश्नमा पनि प्रमेध्वजले ‘यसै हो भनेर सम्झन नसकेको’ जवाफ दिएका छन् (पंक्तिकारले प्रेमध्वज प्रधानसँग २०७६ चैत ५ गते गरेको टेलिफोन कुराकानी) ।

प्रेमध्वजले झलकमान गन्धर्वबाट गीत लिएको भने पनि रेडियो नेपालको रेकर्डमा संकलकको नाम खाली रहनु र परिवारको फरक खालको दाबी हुनुले संशय पैदा गर्छ । प्रेमध्वजले ०४० मा रेकर्ड गराएको गीतलाई पछिल्लो समय विधान श्रेष्ठले रिमेक गरेर गाउनुका साथै भिडियो समेत बनाएको देखिन्छ । विधानले भने उक्त गीतको संकलकका रूपमा झलकमान गन्धर्वको नाम राखेको देखिन्छ । लोकगीतको रचना हुँदैन । यसको रचनाकार पनि हुँदैन । यो लोकको गीत हो र यसका हकाधिकारी पनि लोक हो । लोकगीत प्रेमध्वजले गाउन नपाउने भन्ने पनि हुँदैन, न विधानले नै । तर, जब गायक या संकलकमा प्रेमध्वज या विधानको या अरू कसैको नाम हुन्छ र त्यसरी दर्ता गराइन्छ भने रामबहादुरको नाम छुटाउने सन्दर्भ पनि न्यायोचित हुन सक्दैन, परिवारको दाबी सत्य हो भने । तर, यसको निर्क्योल कसले गरिदिने ? रेडियो नेपालमा रामबहादुरको नाममा उक्त गीत दर्ता छैन । जसको नाममा दर्ता छ गायकको रूपमा, संकलकको नाम खाली छ । पछिबाट रिमेक गर्नेले झलकमानको नाम राखिदिएको छ ।

अदालतमा सारंगीको बहस
खेतीपातीको बेलामा खेती गर्नु र बाँकी समयमा गाउँगाउँ डुलेर सारंगी रेट्दे गीत गाउँदै हिँड्नु रामबहादुरको जीवन पद्धति थियो । त्यही क्रममा उनीहरूको जग्गालाई लिएर रैथाने पञ्च नेता ढुण्डुराज कँडेलले जिल्ला अदालतमा मुद्दा हाले । रामबहादुरले तिरो तिरिराखेको जग्गा हाम्रो गाईवस्तु चराउने सार्वजनिक जग्गा हो भनेर कँडेलले मुद्दा हालेका थिए । त्यहाँ बनेको घर पनि भत्काइदिएका थिए ।

२०३५ सालदेखि सुरु भएको मुद्दा २०४२ सम्म चल्यो । जिल्लाबाट सुरु भएको मुद्दा पुनरावेदनसम्म पुग्यो । त्यही मुद्दाको क्रममा रामबहादुर सुनुवाइको दिनमा जिल्ला अदालत गोरखामा उपस्थित भए । न्यायाधीश रामनाथ मिश्रले उनलाई आफ्नो कुरा राख्न भनेपछि झोलाबाट सारंगी झिकेर रामबहादुरले भने, ‘हजुर म गाइने, आफ्नै तरिकामा दुःख, दर्द कहन पाऊँ !’

न्यायाधीशले उनलाई अनुमति दिएपछि सारंगी रेटेर अलापे–

‘पालुङ्टारको म रामे दुखिया

दुःख दिने ढुण्डुराज मुखिया …।’

रामबहादुरको त्यो बहस सम्भवतः नेपालको न्यायिक इजलासको इतिहासमा पहिलो र अन्तिम घटना थियो, जहाँ एउटा गाइनेले सारंगी बजाउँदै गीतमार्फत आफ्नो बहस गरेको थियो । एउटा ग्रामीण अनपढ गाइनेले आफ्नो सारंगीलाई वकिल बनाएर अदालतमा उभ्याएको थियो। आफ्नो पुर्ख्यौली गायन शिल्पलाई आफैंमाथि आइपरेको विपत्का विरुद्ध बहस गर्ने सामर्थ्यवान साधनका रूपमा कठघरामा उभिएर लय भरेको थियो । त्यसरी जब जिल्ला अदालतको इजलासमा रामबहादुरले सारंगी लिएर बहस गरे, गीतमार्फत आफ्ना प्रमाणहरू पेस गरे, रामबहादुरले मुद्दा जिते । कँडेल त्यत्तिमै रोकिएनन् । पुनरावेदन गए । पुनरावेदनले रामबहादुरलाई हराइदियो ।

गाउँदै, अलिअलि भएको जमिनमा खेतीपाती गर्दै परिवारको गुजारा चलाउनुपर्ने रामबहादुर अदालतदेखि अदालतसम्मको चक्करले आजित भए । भएको जमिन पनि हरिएपछि उनी सुकुम्बासीमा परिणत हुन लागे । त्यहीबखत राजा वीरेन्द्र पोखरा भ्रमणमा आउन लागेको थाहा पाएपछि (त्यसरी थाहा दिएर राजासँग बिन्ती बिसाउन सल्लाह दिने उनका हितचिन्तक थिए जिल्ला पञ्चायतका नेता जगतबहादुर रोका) उनी सारंगी बोकेर पोखरा हान्निए । त्यसबखत राजा जनताका दुःखसुख त्यस्ता सवारीमा सुन्ने गर्थे । पञ्चहरू लाममा बसेका थिए, राजाको दर्शनभेटका लागि । रामबहादुर रेडियो नेपालबाट चि सनिइसकेका गायक थिए । तिनै पञ्चहरूलाई उनले सारंगी बजाएर आफ्नो दुःख सुनाए । तिनैमध्ये कसैले राजाकहाँ गुनासो सुनाउने मेसो मिलाइदिए रामबहादुरलाई ।

राजा वीरेन्द्रका अगाडि आधा घण्टा बढी सारंगी रेट्दै आफ्नो दुःख सुनाएपछि वीरेन्द्रले सँगै रहेका आफ्ना सचिव रञ्जनराज खनाललाई यसअघि जेसुकै फैसला भएको भए पनि सात दिनभित्र रामबहादुर गन्धर्वको नाममा जग्गाको अन्तिम हक कायम हुने व्यवस्था मिलाउन आदेश दिए ।

रञ्जनले नापीका विष्णु खनाललाई खटाए । विष्णुले जिल्ला मालपोतबाट अमृत खनाल, होम ब. भुजेल र कल्याण ब. अधिकारीसमेत लगेर जग्गा कित्ताकाट गरेर हुकुम प्रमांगीअनुसार रामबहादुरकै हुन गएको जानकारी र पुर्जा दिए । त्यसरी रामबहादुरले आफ्नो पुर्ख्यौली सारंगीवादन र गायनको बलमा आफ्नो जमिन जोगाउन सकेन। रैथाने टाठाबाठाको जालझेल र मुद्दामामिलालाई किनारा लगाउन सके (रामबहादुरकी पत्नी नमकुमारी गान्धारी, छोराहरू डम्बर, कर्णबहादुर, नरबहादुरसँग पटकपटक गरिएको कुराकानीमा आधारित)। साभार इकान्तिपुर