सामुदायिक बनको संरक्षण गर्ने उपभोक्तालाई उपभोग अधिकार :मन्त्री थापा मगर

आइतवार, कार्तिक २, २०७७

कात्तिक २, गाेरखा । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले स्थानीय जनताले संरक्षण गर्दै आएको सामुदायिक बनको उपभोग गर्ने अधिकार पनि स्थानीयकाे भएकाे बताएका छन् । सामुदायिक बन उपभोक्ता महासंघ गोरखाको आयोजनामा  गोरखा नगरपालिका–१३ स्थित राजदेवी नमुना सामुदायिक बनको अबलोकन तथा उपभोक्ताहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले बताएका हुन् ।

उनले सामुदायिक बन र स्थानीय तह बिच समन्वयको आबश्यकता रहेको बताउदै सामुदायिक बनको संरक्षणको जिम्मेवारी मात्र नभएर लगानीका लागि पनि योजना अब स्थानीय सरकारले बनाउनुपर्ने ‘जसले जंगलको संरक्षण गरेको छ, उसलाई उपभोगको अधिकारी नदिने हो भने त्यसको औचित्य छैन, मन्त्री थापामगरले भने, त्यसबाट जंगल नास हुने सम्भावना पनि बढ्छ ।’ मन्त्री थापामगरले केन्द्र प्रदेश र स्थानीय तह बिच बन ऐनका सवालमा स्पस्ट किटान भइ नसकेकाले सामुदायिक बनको व्यवस्थापनमा केही समस्या आएको बताए ।

सधै हामीले प्रयोग गरिरहेका कतिपय जडीबुटीको अझै महत्वको बारेमा अझै पनि थाहा नभएको हुनसक्छ ,अब त्यसलाई सही उपयोग गरेर अघि बढ्न सक्नुपर्छ ।’ उनले सामुदायिक बनले जनतालाई लाभ हुने गरि सोच्नु पर्ने भन्दै जंगलको संरक्षण गर्दै आफ्ना उपभोक्ताहरुको पक्षमा बढी भन्दा बढी लाभ दिन सकिने गरि काम गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नरबहादुर गुरुङ राज्यले सामुदायिक बन माथि बिभिन्न बाहानामा अंकुस लगाउन खोजेको बताए । ‘राज्यका तिनै तहले सामुदायिक बनसंग बिभिन्न बाहानमा कर उठाउने गर्छ, उनले भने बिकास आयोजनाहरुले उपभोक्ताहरुसंग छलफल नै नगरी बर्षौदेखि संरक्षण गर्दैै आएका बन फडानी गर्छ, यसले राज्यले सामुदायिक बनलाई हेर्नेदृष्टि कोण राम्रो छैन भन्ने बुझिन्छ् ।’

सोही कार्यक्रममा नमुना सामुदायिक बनको व्यवस्थापनमा राजदेवी सामुदायिक बनले गर्दै आएका नमुनका कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । सामुदायिक बन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष हरि खनाल, गैह्रसरकारी संस्था महासंघ गोरखाका सचिव हरि देवकोटा, महासंघका कोषाध्यक्ष पार्वती पाठक लगायतले सम्बोधन गरेका थिए ।