नेकपा गण्डकी प्रदेशका साँसद र मन्त्रीले दशैँ भत्ता लिन मानेनन्

बिहिबार, कार्तिक ६, २०७७

कार्तिक ६,पाेखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सबै सदस्यले दशैँ भत्ता लिन अटेर गरेका छन् । उनीहरुले प्रदेशमा काेराेना सङ्क्रम भइ नागरिकहरुकाे उपचारमा खर्च गर्नु पर्ने समयमा किन भत्ता दिन खाेजेकाे भन्दै आफूहरुकाे भत्ता कोरोना कोषमा जम्मा गर्न निर्देशन गरेका हुन ।

सँसदिय  दलको बैठकले चाडपर्व भत्ता कोरोना महामारी नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम,नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए  । प्रदेशभामा नेकपाका ४० सदस्य छन् ।

त्यसैगरी आजको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री सहित सातै जना मन्त्रीको भत्ता सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

उनका अनुसार कोरोनाको तीव्र सङ्क्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्री सहित सबै मन्त्रीहरुले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुभएकामा हालै दशैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

गण्डकी  प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिदै आएकाे छ । मुख्य मन्त्री गुरुङले प्रदेश भित्र सङक्रमित भएका सबै नागरिकहरुकाे पूर्ण निशूल्क उपचार हुने बताएका छन् ।