असाेज २१ गाेरखा । असाेज १ गतेबाट जाेर विजाेर प्रणालीमा मास्क लगाएर पठनपाठन गरेकाे गाेरखाका विद्यालयहरुले आजबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी र उनीहरुका परिवारका सदस्यहरुलाइ काेराेना सङ्क्रमण भएपछि विद्यालयहरु बन्द भएका हुन् । गाेरखाका केही विद्यालयका विद्यार्थी शिक्षकहरु सङक्रमित भएका हुन ।
विद्यालय अनिवार्य उपस्थित हुन गरिएकाे आह्वानलाइ कार्यान्वयन गर्न विद्यालय पुगेका शिक्षकहरुमा काेराेना देखिएपछि विद्यालय बन्द गरिएकाे गाेरखा नगरपालिका गाेरखाका एक विद्यालयका प्रधानाध्यापकले बताए । काेराेना लागेका परिवारका सदस्य भित्रका विद्यार्थीहरु नियमित विद्यालय आइरहेका थिए । आजबाट बन्द गरेका छाैँ । ति विद्यार्थीकाे परीक्षण पछिकाे नतिजा अनुसार विद्यालयमा शिक्षक विद्यार्थीकाे कन्टयाक्ट ट्रेसिङका लागि अनुराेध गरिने उनले बताए ।
गाेरखाका कतिपय स्थानीय तहले अघाेषित रुपमा नै भदाै १ गतेदेखि नियमित पठनपाठन गराइरहेका छन् । गाेरखा नगरपालिका भित्रका विद्यालयहरुले भने सिकाइ सहजीकरणका नाममा गाउँ गाउँ र विद्यालयमा विद्यार्थी भेला गरेर शिक्षण गराइरहेका छन् ।
कतिपय विद्यालयहरुले अनाैपचारिक भन्दै विद्यालय पाेषाक बाहिरकाे पाेषाकमा विद्यार्थीहरुलाइ विद्यालयमा बाेलाएर नियमित पठनपाठन गराइरहेका छन् । बालबालिकाहरुकाे शिक्षा आर्जन गर्ने चरणलाइ स्वस्थ रहन पाउने चरण भन्दा अघि राखेका कारण राेगकाे प्रकाेप बढ्ने खतरा रहेकाे एक शिक्षकले बताए ।
असुरक्षित रुपमा विद्यालय खाेलेर पठनपाठन गराउने विद्यालयका प्रशासकलाइ कारवाही गर्न यसअघि नागरिक समाजका प्रतिनिधीहरुले आग्रह गर्दै आएका थिए । विश्वभरी फैलिएकाे महामारीलाइ सामान्य आँकलन गरी स्वास्थ्यमा हेलचेक्राइँ गर्न नहुने उनीहरुले बताएका छन् ।






