कत्ति धेरै सम्झिएँ रोएर पनि सम्झिएँ- आँसुको अभिव्यक्तिहरूमा, हाँसेर पनि सम्झिएँ- प्रेमको ओठले गुलाफ उचालेर, आकाश; उस्तै लाग्छ- प्रेमका जून-ताराहरू, धर्ती; उस्तै लाग्छ- प्रेमको गुराँस र सुनाखरीहरू।
तिमी आकाश हुँदा म स्वत बादल हुँ।
तिमी धर्ती हुँदा- म स्वत हृदय रसिएर, तिम्रो छातीलाई स्पर्श गर्दै बगिरहने प्रेमको नदी हुँ।
तिम्रो मुस्कानले खनेको बाटोमा- म एकछिन मात्रै हिँड्न पाएँ भने, तिम्रो नजरको पर्खालमा- एकैछिन मात्रै अडेस लाग्न पाएँ भने, तिमी निदाउँदा- तिम्रो आँखाबाट केही थान प्रेमिल सपनाहरू मेरो आँखासम्म उम्किएर आयो भने, म तिम्रो हृदयको मूल्यसँग सिधै गाँसिने छु, म तिम्रो मुटुसँग सिधै रक्त सन्चार हुने छु म तिमी हिँड्ने पैतालाका डोबहरूमा स्वत; समाहित हुने छु।
म आफूलाई आफैबाट निकालेर- तिम्रो आँखाको सपनालाई उपहार दिने छु।
मेरो छातीमाथि- तिम्रो मुटुको ढुक्ढुकी हिँड्यो भने! मेरो मुटुमाथि- तिम्रो प्रेमिल प्रेमिल रगत सन्चार भयो भने,
सम्झिनु- म प्रेमको उपहार हो तिम्रो, सम्झिनु- म तिम्रो जीवनमा फूलिरहने प्रेमको अजम्बरी फूल हुँ।
सम्झिनु अन्त्यमा यति सम्झिनु- म तिम्रो मुटुको अक्षरमा लेखिएको तिम्रै प्रेममा मिसिएको मुटुकै प्रेमिल पुस्तक हुँ जुन मेरो प्रतीक्षाको आँखाले सधैं पढिरहन्छ।
~ राम योन्जन`गाउँले´