साहित्य

कविता : हाम्रो सम्बन्ध

By मनासलु

October 30, 2020

म अर्थात मेरो मुटुलाई- बाटो बिछ्याएर हिँड्यो- ढुङ्गा-माटो र अरू अरू पनि, मलाई टेक्यो, कुल्चियो फूलका पैतालाहरूमा।

सम्झौताको समय- कुरुप अनुहारहरू बीच, धर्ती र आकाश बनेर मृत्यु बराबरको संकटको पहाड उभियो! र खस्यो पहिरो जीवनसँगै उभिएको पीडाको अग्लो पहाड।

म बाटो भत्किएर- हिँडिरहेँ मुटुको किनारै किनार! म छाती थुनिएर- रोकिँएँ आफ्नै जीवनको आँगनै आँगन।

म हरेक साँझ झुट बनेर रातसँग अनावश्यक बोल्न थालेँ, जून, तारा देख्न छोडेँ र उदाउँने प्रत्येक बिहानीसँग- आफूलाई एउटा एउटा कवितामा कोरेर झरेको आफ्नै आँसुमा परिवर्तनको पाइला टेक्न थालेँ।

यही बेला तिम्रो मौनतामा- संसार सबैभन्दा जटिलता लाग्यो।

र यति बेला नै- तिमीले हिँड्ने तिम्रो बाटो खुकुरीको धार जस्तो लाग्यो सहाराको लागि तिम्रो हातले लिएको लठ्ठी प्रतिकूल समयको गोमन जस्तो लाग्यो।

म त के गर्न सक्छु र? आफ्नो आजसम्मको जवानी बेचेर तिमीलाई खरिद गरेको मान्छे।

अझै पनि प्रत्येक पल म बेचिन्छु र तिमीलाई किन्छु।

मेरो मुटुबाट पलपल! पीडाको पहिरो खस्ने तिमी हौ तर हिँड्दा- मलाई निर्मम टेकेर हिँड्ने तिमी हौ।

मेरो रगतको नशा नशामा बग्ने- तिम्रा मुटुका ढुङ्गा-माटाहरूले मलाई बगाइरहन्छ पीडाको नदी र तिमीलाई उभ्याइरहन्छ खुसीको पहाड।

हाम्रो सम्बन्ध यति भो, मैले आफ्नो पसिना र आफूलाई बेचुन्जेल।

राम योन्जन`गाउँले´