बलिउड गायक अमालको भिडियोमा अदिति

बिहिबार, कार्तिक २०, २०७७

काठमाडौं । अनमोल केसी अभिनित ‘कृ’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकी पछिल्लो समय बलिउडमा संघर्षरत छिन् । बलिउडका फिल्म अभिनयका लागि संघर्षरत उनले फिल्म नपाएपनि त्यहाँका म्युजिक भिडियोमा भने राम्रै चान्स पाइरहेकी छन् ।

केही अगाडि गायक, कलाकार फरहान अख्तरसँग ‘इन्साइड एज २’को म्युजिक भिडियोमा देखिएकी अदितिले अमाल मलिकको डेब्यु गीत ‘तु मेरा नही’ समेत मोडलिङ  गर्न भ्याएकी छन् । सोको जानकारी अदितिले इन्स्टाग्राम मार्फत अमालसँगको फोटो शेयर गर्दै गराएकी हुन् ।

उनले अमालसँगको तस्बिरका साथ लेखेकी छन् ‘यो गीत मेरा लागि एकदमै स्पेसल छ । गीतमा काम गर्ने मौका दिएकोमा अमाललाई धेरै धेरै धन्यवाद ।’
गीतको टिजर समेत अहिले सार्वजनिक गरिएको छ । गीत पप बिधामा रहेको छ । अमालले यसअघि ‘कबिर सिंह’, ‘धोनी’ र ‘एयरलिफ्ट’ जस्ता फिल्मका गीतमा स्वर तथा संगीत दिएका छन् । गीतको भिडियो दुबईमा छायाँकन भएको हो ।

इन्स्टामा १० लाखभन्दा बढी फ्लोअर भएकी उनी केही अगाडि नेपाली फिल्म ‘बेन्जो’अनुबन्धित भएकी थिइन् । कोरोना महामारीका कारणले फिल्मको काम अगाडि बढ्न सकेको छैन । यो फिल्ममा उनको गायक नितेशजंग कुबरसँग रोमान्स रहनेछ ।