निशुल्क पशु विमाका लागि गाेरखामा ४२ लाख अनुदान

शुक्रबार, कार्तिक २८, २०७७

 

कात्तिक २८, गाेरखा । गोरखा जिल्लामा निशुल्क पशु बिमा कार्यक्रम सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मार्फत जिल्ला भित्रका पशुपालक किसानहरुका लागि निशुल्क पशु बिमा कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा. इन्द्रबहादुर भट्टले जानकारी दिए । चालु आर्थिक बर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिनियोजन गरेको ४२ लाख रुपैया बजेट मार्फत कार्यक्रम सुरु भएको उनले बताए ।

‘यस अघि जिल्ला भित्रका पशुपालक कृषकहरुले पशुपन्छी बिमा बापतको रकमको २५ प्रतिसत रकम आफैले दिनुपर्थ्याे । प्रमुख डा. भट्टले भने, अब यो कार्यक्रम लागू भएसंगै कृषकहरुले किसानहरुले पशुबस्तुको बिमा गरे बापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।’ निशुल्क पशुपन्छी बिमा कार्यक्रम अन्तरगत एकजना किसानले अधिकतम रु १ करोड रुपैयासम्मको बिमा गराए बापत लाग्ने खर्च कार्यालयले तिरिदने उनकाे भनाइ छ ।

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुबस्तुको बिमा गरेको कागजात पेश गर्नुपर्ने प्रमखु डा. भट्टले जानकारी दिए । ‘किसानले बिमा कम्पनी मार्फत पशुबस्तुको बिमा गर्छन, बिमा गरिसकेपछि किसानले बिमा बापत भुक्तानी गरेको नगदी रसिद, बैंक खाता सहित कार्यालयमा निवेदन दिनुपर्छ,  त्यस बाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाण पत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्याएर रकम भुक्तानी गरिदिन्छौ ।’

कार्यक्रम सुरु भए लगत्तै १२ जना कृषकहरुले आफ्ना पशुबस्तुको निशुल्क बिमा गराइए सकेको  छन् । त्यस बापत किसानहरुलाई रु १ लाख ८२ हजार २ सय ७९ रुपैया भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानहरुले आफ्ना पशुबस्तुको निशुल्क बिमा गराएका छन् ।

निशुल्क बिमा गर्नेहरुमा कुखुरा पालक किसानहरु बढी रहेको प्रमुख डा. भट्टले बताए । निशुल्क पशुपन्छी बिमा कार्यक्रमका लागि प्रदेश सरकारबाट रु ४२ लाख रुपैया बजेट प्राप्त भएको उनकाे भनाई छ । ‘अहिलेसम्म कति जना किसानका पशुपन्छी निशुल्क बिमा गरिदिने भन्ने छैन, प्रमुख डा. भट्टले भने, जो पहिला आउनुहुन्छ उनीहरुले बिमा बापतको रकम भुक्तानी दिन्छौ र बजेट भएसम्म नै कार्यक्रम सञ्चालन भइरहन्छ ।’

उनले अहिलेसम्ममा किसानहरुले करिब ८ लाख बराबरको निशुल्क बिमा गराइसकेको जानकारी दिए। गोरखा जिल्लामा पोटेन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बिमा गराउदै आएको छ ।