गाेरखामा नुन १५० रुपैयाँ र चामल २०० रुपैयाँ किलाे

आइतवार, कार्तिक ३०, २०७७
आयाेडिनयुक्त नुन ।

कात्तिक ३०, गाेरखा । गाेरखा भन्ने वित्तिकै आँवुखैरेनी, तुरतुरे वा बेनिघाट पारी हाे भन्ने धारणा अधिकाँशमा छ । नेपालकाे चाैँथाे ठूलाे जिल्ला रहेकाे गाेरखा जिल्लामा तराइ, पहाड र हिमाल तिनै प्रकारका हावापानी पाइन्छ ।

गाेरखा जिल्लामा एक किलाेग्राम नुनकाे रु १५० र चामलकाे २०० रुपैयाँ पर्छ भन्दा जाे काेही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि झण्डै १० दिनसम्म खच्चडमा बाेकेर पुर्याउनुपर्ने बस्तिहरुमा रहेकाे मूल्य यही नै हाे । बजारमा विभिन्न थरिका चामल पाइन्छन थरी थरी मूल्यका । माथिल्लाे क्षेत्रमा २०० पर्ने चामल सदरमुकाममा ६० रुपैयाँ प्रतिकिलाे पाइन्छ ।

साम्दाे गाउँ : तस्वीर राजेन्द्र न्याैपाने

दुवानी खर्चका कारण समान महङ्गाे 

गाेरखा जिल्लाकाे अन्तराष्ट्रिय सिमा नजिक रहेकाे अन्तिम मानववस्ति भएकाे लार्के  बजारमा हाल रहेकाे मूल्यसूची यही नै रहेकाे छ । काेराेना भाइरसका कारण सिमा नाका बन्द भएपछि रुइला नाकाबाट कुनै पनि सामान आउन सकेकाे छैन । गाेरखा सदरमुकामदेखि दुवानी गर्दा महङ्गाे पर्न गएकाे  चुमनुब्री गाउँपालिका वडा नम्वर १ का वडा सदस्य समेत रहेका साम्दाेका  निमा लामा बताउँछन् ।

रुइला नाकाबाट समान ल्याउन एक दिन मात्रै लाग्छ तर गाेरखा सदरमुकामबाट साम्दाे, लार्केमा समान पुर्याउन ८ देखि १० दिन लाग्ने गरेकाे खच्चड व्यावसायी कान्छा गुरुङकाे भनाइ छ । भीरकाे बाटाे जाेखिम सहेर हिँड्नुपर्छ । माथिबाट ढुँङ्गा झरिरहन्छ । हिउँ पर्दा र वर्षातकाे समयमा हिँड्न सक्ने अवस्था हुँदैन, उनले भने ।

समान ल्याउन मनाङबाट सजिलाे

गाेरखा सरदमुकामबाट समान ढुवानी गर्दा धेरै दिन  लाग्ने र महँगाे पर्ने भएपछि मनाङकाे धारपानी भीमताङ हुँदै दैनिक उपभाेग्य बस्तु ल्याउने गरेकाे साम्दाेका ग्याल्जेन घ्युर्मे लामा बताउँछन् । धारापानी देखि केही माथि सम्म गाडिले ल्याउँछ त्यसपछि खच्चडमा बाेकाएर ल्याउँदा दुइ दिनमा साम्दाे पुग्ने गरेकाे उनले बताए ।

तल चल्ने खच्चडहरु माथिल्लाे क्षेत्रमा राम्ररी भारी बाेक्न पनि कठिनाइ हुने भएकाले भीमताङ, धर्मशाला हुँदै समान ल्याएकाे उनकाे भनाइ छ । गाउँलेहरुले हिउँदभरीका लागि चाहिने समान एकैपटक ल्याउने गरेकाे उनकाे भनाइ छ । यस पटक पर्यटकहरुकाे आवागमन नभएका कारण अघिल्लाे साल जसरी धेरै समान नआएकाे उनले बताए ।

सरकारले दिने खाद्यन्न माथिल्लाे क्षेत्र पुग्दैन 

उत्तरी क्षेत्रका नागरिकहरुका लागि खाद्यन्न वितरण गर्न भनेर जिल्ला सदरमुकाम , माछाखाेला र सिर्दिवासमा डिपाे राखिएकाे छ । सिर्दिवासमा राखिएकाे डिपाेबाट उत्तरका साविक ७ गाविसमा खाद्यन्न र नुन पुर्याउनुपर्ने भएपनि काेटा प्रणालि भएका कारण माथि नपुग्दै तल्लाे क्षेत्रमा नै सकिने गरेकाे स्थानीयहरुकाे गुनासाे छ । सिर्दिवास माथि साम्दाे सम्म केन्द्र पर्ने गरी एउटा खाद्यन्न डिपाे सञ्चालनमा ल्याउने उनीहरुले पटक पटक माग गर्दै आएका छन् । डिपाे सञ्चालन भएपछि सरकारले नुन र चामलका लागि दुवानी अनुदान दिने गर्दछ । सरकारी अनुदानकाे चामल र नुन प्राेक, ल्हाे , सामागाउँ सम्म नपुगेकाे स्थानीय गाउँलेहरुकाे भनाइ रहँदै आएकाे छ ।