मनकामना केवलकार नखुल्दा स्थानीय नागरिकहरुलाइ सास्ती

सोमवार, मंसिर ८, २०७७

 मंसिर, ९ गोरखा । लकडाउन भएदेखि बन्द भएकाे  मनकामना केवलकार संचालन नहुँदा स्थानीय नागरिकहरुलाइ सास्ती भएकाे छ । व्यापार व्यावसाय गरेर तल झर्न, तल काम गरेर माथि जान केवलकारले सजिलाे बनाइदिएकाे थियाे । केवलकार बन्द भएकाे ८ महिना वितिसक्याे कच्ची बाटाेमा धुलाेमैले भएर हिँड्नुपरेकाे छ, केवलकार सञ्चालन नहुँदा मानिसहरु आउनेजाने क्रम पनि नबढेकाे स्थानीय मनाेज थापा बताउँछन् ।

यसैवीच स्थानीय नागरिकहरुले केवलकार सञ्चालन गर्न माग गर्दै  वडा कार्यालयमा निवदेन बुझाइएका छन् ।  स्थानीय जनप्रतिनिधि, राजनितिक दल, व्यापारी, संघसंस्थालगायतका सरोकारवालाहरुको बैठक बसेको थियो । ‘बैठकले केवलकार संचालन गर्न वडा कार्यालयमा निवदेन दिने भन्ने निर्णय गर्‍यो, सोही अनुसार वडा नम्बर २ र ३ को वडा कार्यालयमा निवेदन बुझाएकाे उद्याेग वाणिज्य सँघ मनकामना इकाइका सदस्य दिनार श्रेष्ठले बताए ।

शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापाले   केवलकार संचालन गर्न पालिकाबाट सहजिकरण गर्ने बताए । केवलकार र मनकामना मन्दिर नखुले पनि माेटरबाटाे भएर मनकामना आउने भक्तजनहरुकाे कमि नभएकाे स्थानीयहरु बताउँछन् । भाकल पूरा गर्नकाे लागि मन्दिर परिक्रमा गर्ने, मन्दिर बाहिरबाट पूजा गर्ने काम भइरहकाे  उद्याेग वाणिज्य सँघ मनकामना बजार इकाका अध्यक्ष हरी श्रेष्ठले बताए ।

केवलकार सञ्चालक मनकामना दर्शन प्रालिलाई पनि आफूहरुले अनुरोध गरिसकेको उनको भनाइ छ । अधिकांशले केवलकार सञ्चालन गर्न सहमत देखिएको स्थानीय दिनेश जोशीले बताए । ‘हामीले आज पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका टोलीसँग छलफल गर्याैँ, उहाँहरु पनि केवलकार संचालन गर्न सहमत हुनुहुन्छ,’ उनले भने । मन्दिर सञ्चालनका लागि पनि आफूहरुले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।

स्थानीय सहमत भए आफूहरु पनि संचालन गर्न तयार रहेको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘मठमन्दिर नखुलेका कारण समस्या भएको हो,’ उनले भने, ‘तर स्थानीयहरु सहमत भएर स्थानीय सरकार र प्रशासन तयार भए हामीलाई पनि सञ्चालन गर्न कुनै आपत्ति छैन ।’

संचालनका लागि एक हप्ताको समय दिनुपर्ने उनले बताए । कोभिड–१९ का कारण गत चैत्र ८ गतेबाट केवलकार बन्द रहदै आएको छ ।