सिँहदरबार गाउँमा पुगेर अपाङ्गता भएका नागरिकलाइ नागरिकता र परिचयपत्र प्रदान

सोमवार, मंसिर ८, २०७७
अपाङ्गता भएकि किशाेरीलाइ घरमै पुगेर नागरिकता प्रदान गर्दै गाेरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइ । तस्वीर जिल्ला प्रशासन कार्यलय गाेरखा ।

 मङ्सिर ९, गाेरखा (बक्राङ)।  शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङ स्थित  ईन्द्र बहादुर पाेखरेल तथा सानुमाया पाेखरेलकी छाेरी बर्ष २७ काे पवित्रा पाेखरेल  हिडेर गाेरखा पुगि नागरिकता लिन सक्ने अवस्थामा थिइनन् । न उनलाइ बाेकेर लैजान सहज थियाे । आइबार विहानै स्थानीय जनप्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारीकाे टाेली उनकाे घरमै पुगेर छाेरीलाइ नागरिकता प्रदान गर्दा सिँहदरबारकाे अधिकार गाउँमा आएकाे महसुस गरे । नागरिकता नभएका कारण अपाङ्गता परिचय पत्र समेत पाउन नसकेकी पवित्राले आइतबार सिँहदरबार गाउँमा आएपछि नागरिकता र अपाङ्गता परिचयपत्र दुवै पाउन सफल भइन ।

साेही वडाका विरबहादुर गुरूङ तथा मिनमाया गुरूङकाे छाेरी बर्ष २१ काे शाेभा गुरूङकाे अवस्था पनि उस्तै थियाे । उनले पनि घरमा नागरिकता पाइन । शाेभाका बाबु वीर बहादुरले भने साच्चै घरमा भगवान आए जस्ताे लाग्याे । मैले मेराे घरमा यसरी अड्डाकाे प्रमुखबाट सेवा पाएँ याे भन्दा धेरै सुविधा राज्यसँग के माग्ने ? नानिलाइ जिल्लामा गाडी रिजर्व गरेर लैजान सकेकाे थिइन । आज प्रमुख जिल्ला अधिकारी घरमै आउनुभइ नागरिकता प्रदान गर्नुभयाे खुशी लागेकाे छ ।

शहिद लखन गाउँपालिका गाेरखाले आइतबार देखि सप्ताहव्यापी रुपमा प्रत्येक वडा, टाेल र घरमै पुगेर असक्तहरुका लागि नागरिकता, अपाङ्गता परिचयपत्र प्रदान गर्ने कार्यक्रम राखेकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए ।