अपराध/ दुर्घटना

दुर्घटना न्यूनीकरणका लागि गोरखामा ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु

By मनासलु

November 08, 2020

कात्तिक २३, गोरखा । दुर्घटना न्यूनीकरणका लागि भन्दै गोरखामा ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रवेशको मुख्य सडक तथा अन्य ग्रामीण सडक क्षेत्रलाई केन्द्रित गरी यो कार्यक्रम सुरु गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । गण्डकी प्रदेशभरि नै यो कार्यक्रम आइतबारबाट एकैसाथ सुरु भएकाे उनले बताए ।

गण्डकी प्रदेशका ११ वटा जिल्लामा कार्यक्रम सुरु गरिएको र पहिलो चरणमा एक महिना सम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख ढकालकाे भनाइ छ ।

‘चालकसँग एक मिनेट ’कार्यक्रम अन्तर्गत सवारी साधनलाई रोकेर सम्मानपूर्वक नमस्कार गरी सवारी नियमको पालनाको बारेमा जानकारी गराइने र एक मिनेटमा सवारी साधन चलाउदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइक, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता लगाउन भनिने उनले बताए

काेराेना भाइरस महामारीका कारण थाेरै सँख्यामा चलेका सवारी साधन क्रमश धेरै चल्न थालेकाले यो समयमा सवारी दुर्घटनाको जोखिम समेत धेरै हुन सक्ने भएकाले अभियानको थालनी गरिएको हाे ।चालकसँग एक मिनेट कार्यक्रमको क्रममा कोभिड १९ बाट बच्नको लागि अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न समेत आग्रह गरिने ट्राफिक प्रहरी हवल्दार टिका शर्माकाे भनाइ छ ।