काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । महाशाखाले बेला–बेलामा जनचेतनामुलक कार्यक्रमहरुमार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउँदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ ।
पछिल्लो समय ट्राफिक महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउँदै आएको छ । यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको छ । गीत संगितका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।