मङ्सिर ११,गोरखा । जिल्ला भित्रका कोरोना संक्रमित बिरामीको उपचारका लागि गोरखा क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिन सहितको आइसोलेसन बन्द गर्ने निर्णय गरेकाे छ ।
जिल्ला बिपत व्यवस्थापन समिति तथा कोरोना रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको आज बसेको बैठकले करिब ७४ लाख रुपैयाँको लागतमा गोरखा नगरपालिका–७ मा निर्माण गरिएको ७६ बेडा क्षमताको आइसोलेसन बन्द गर्ने निर्णय भएको गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले बताइन ।
त्रिभुवन बिश्वबिद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्नुपर्ने तथा क्याम्पसमा पूर्वाधार निर्माण समेत गर्ने तयारी भएकाले क्याम्पसले पटक–पटक आइसोलेसन हटाइदिन अनुरोध गरेपछि आइसोलेसन हटाउने निर्णय भएकाे हाे । ‘जिल्ला भित्रका स्थानीय तहहरुले आफ्ना पालिका भित्र लक्षण नदेखिएका संक्रमितको आफै व्यवस्थापन गर्ने गरेका छन्, साहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन, ‘क्याम्पसमा आइसोलेसन सञ्चालन र व्यवस्थापन गरिरहन नपर्ने देखिएकाले आइसोलेसनका सामाग्री गोरखा नगरपालिकालाई बुझाउने निर्णय गरिएको हो ।’
आइसोलेसनमा रहेका सामाग्रीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका र गोरखा अस्पतालले गर्नेछ । त्यस्तै आइसोलेसनको सुरक्षाका लागि खटिएका नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई पनि तत्कालै फिर्ता बोलाउने निर्णय बैठकले गरेको उनकाे भनाइ छ ।