समय भनेको- बगिरहने खोलाको पानी जस्तै हो भन्छन् जो बगिरहन्छ- खोलाले बगर छोडे जस्तै समयले मलाई छोडेर।
म जन्मिनु समय नै होला म दिनहुुँ हुर्किदै जानु समयकै तागतले होला, मनभरिभरि असीमित रहरहरू बढ्दै जानु- समयकै कारण होला।
हुन पनि हो, फूल उमार्छ समयले- माटोको गर्भ फोरेर फूलाउँछ समयले नै- आफू रङ्गिन हुन्छ! झार्छ फूलहरू समयले नै- र आफू निर्दयी बन्छ।
हरेक पल पल समयले नै- जिन्दगीलाई परिभाषित गर्दै जाँदो रहेछ हिजो जस्तो आज नहुँदो रहेछ सायद आज जस्तो भोलि हुन्न होला।
यो समयले- मलाई यहाँसम्म डोर्याएर ल्याउँदा ल्याउँदै, मेरो निर्दोष मुटुमा प्रेम उमारेर- किन मेरो प्रिय मान्छेलाई अन्त कतै लिएर जान्छ? र किन उसलाई पराइको हत्केलामा थमाइदिन्छ? आखिर किन??
सेकेन्ड,मिनेट,घन्टा, दिन, महिना र वर्ष भएर यो समय- किन मलाई जिन्दगीको पीडा दिएर जान्छ?
मभित्रबाट- निस्किरहने चाहनाका बहाबहरूलाई निकास नदिएर किन पर्खाइरहन्छ मलाई? ए समय ! म जिन्दगीको बगर भएर अब अझै कति बाँच्नु ?
ए समय! यो हावा जस्तै प्रेमिल सुगन्ध लिएर आऊ मेरो अनुहारलाई रङ्गिन बनाउन! मेरो दिलको चाहहरू फूलाइदिऊ ओठहरूमा समय म पर्खिरहेछु तिमीलाई- यो जिन्दगीलाई अप्ठ्यारो बाटोमा हिँडाउँदै हिँडाउँदै।
राम योन्जन`गाउँले´