Breaking News

राष्ट्रपति ज्यू , केपी ओली गुटकाे साधारण सदस्य लिएर चुनाव लडनुस : काँग्रेस नेता बस्नेत

By मनासलु

December 31, 2020

पुष १६, गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू लाइ केपी ओली गुटकाे साधारण सदस्यता लिएर चुनाव लड्न सुझाव दिएका छन् ।

४५ औँ मेलमिलाप दिवसकाे अवसर पारेर गाेरखा आएका बस्नेतले आज गाेरखाका पत्रकारहरुसँग कुरा गर्दै भने ‘कतिपय सार्वजनिक महत्वका अध्यादेश १५/२० दिनसम्म रोकेर राख्नुपर्ने तर संसद विघटनको प्रस्ताव तत्काल पास हुनुले उहाँ ओली गुटको कार्यकर्तामात्रै भएको बुझियो ।  एक कदम अघि बढेर उहाँ ओली गुटको कार्यकर्ताको जस्तो देखिएर काम गर्नु भएकाे छ । ‘

संविधान शंशाेधन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिले सुझबुझपूर्ण व्यवहार गर्न नसकेको बताउनुभयो ।

‘अहिलेको यो परिस्थिति राष्ट्रपतिले सम्हाल्नुपर्ने बेलामा प्रधानमन्त्री भन्दा एक कदम अगाडि बढेर उहाँले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावका लागि सिफारिस गर्नुभाछ,’ उनले भने, ‘अब उहाँले राजीनामा दिएर केपी ओलीको गुटमा साधारण सदस्य लिने अनि चुनाव लड्न हिँडे हुन्छ ।’

प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपतिले गैर संवैधानिक र विवेकहीन काम गरेको उनले बताए । ‘उहाँले गरेको यस्तो कामले अब यो मुलुकमा राष्ट्रपतिबाट केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइसक्यो,’ नेता बस्नेतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको मर्म र भावना विपरीत कदम चालेको उनले बताए । ‘प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि चुनाव गर्ने भन्नुभयो तर यो निर्णय उहाँकै लहडमा भएको हो कि अरु चलखेलहरु भएका छन् बुझ्नुपर्छ,’ उनले भने ।

नेता बस्नेतले अहिलेको राजनीतिक घटनाक्रममा उत्तर–दक्षिणका मुलुकहरुको केही चलखेल हुन सक्ने आशंका व्यक्त गरे ।

‘नेपालको राजनीतिमा इतिहासले के प्रमाणित गरेको छ भने दरबार बलियो भएको बेला दल उचाल्ने र दल बलियो भएको बेला दरबार उचाल्ने काम दक्षिणबाट हुदै आएको छ, त्यसैले प्रधानमन्त्रीले चाल्नुभएको कदममा पनि दक्षिणी चलखेलहरु भएका छन् कि भन्ने हो,’ बस्नेतले भने ।

संसद बिघटनको बिरोध नेपाली कांग्रेसले गरिरहने बताउदै उनले थपे, ‘यो विषय सर्वाेच्च अदालतामा विचाराधीन अवस्थामा छ, अदालतले जे फैसला गर्छ हामी त्यही स्वीकार गर्छौं ।’