बारपाक सुलिकाेट गाउँपालिका भित्रका बराम समुदायकाे निशुल्क विमा गरिने

शनिबार, पुस २५, २०७७

पुस २५, गाेरखा ।  गोरखाको वारपाक सुलिकोट गाऊँपालिकाले पालिकाभित्रका बराम समुदायको निशुल्क स्वास्थ्य बिमा गराउन थालेको छ । जागीर खाइरहेका र पेन्सन बुझ्दै आएका बाहेक सो समुदायका सबैको निशुल्क बिमा गराउन थालिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डले खटाएका गणकहरुले बिमा दर्ता गराउँछन् भने पालिकाले बिमा वापतको रकम प्रदान गर्छ । संघीय सरकारबाट बराम समुदायको सशक्तिकरण सम्बन्धी कार्यक्रमका लागि प्राप्त अनुदान रकम निशुल्क बिमाका लागि खर्च गरिएको हाे ।

संघीय सरकारबाट प्राप्त १ करोड रुपैयाँ अनुदानमध्ये स्वास्थ्य बीमा र पोषण सहयोग कार्यक्रममा ३८ लाख रुपैयाँ विनियाेजन गरिएकाे भण्डारीले बताए ।

पालिका भित्र बराम समुदायको जनसंख्या ३ हजार ४ शय ६५ रहेको छ । जसमा महिलाको संख्या १ हजार ६ शय ६४ र पुरुषको संख्या १ हजार ८ शय १ रहेको छ । घरधुरी संख्या भने ६ शय ६२ रहेको छ। वडा नम्वर ६ ताकुकोटको डाँडागाऊँमा बराम समुदायको बाक्लो बसोबास रहेको छ ।

बराम समुदायको शसक्तिकरणका लागि संघीय सरकारबाट प्राप्त अनुदानमध्येकै ४० लाख रुपैयाँ बाख्रापालनमा, ७ लाख रुपैयाँ कुखुरापालनमा, तरकारी र फलफूल खेतीमा १० लाख र शीप विकासका तालिममा ५ लाख रुपैयाँ खर्च गर्ने गरि कार्यक्रम तय गरिएको भण्डारीले बताए ।