ओलीकाे कदमलाइ साथ दिने शेर बहादुर देउवा दाेषी हुन : काँग्रेस नेता काेइरला

शनिबार, माघ ३, २०७७

विराटनगर ३, माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेस प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपा प्रचण्ड– माधव पक्षसँगै नेपाली काँग्रेसको नेतृत्व पनि दोषी रहेको बताएका छन् । ओलीले सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु सबैभन्दा ठूलो गल्ती भएको उनले स्वीकार गरेका छन् ।

‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भूमिका काँग्रेसले खेल्न सकेन, उनले भने, ‘हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो।’ केन्द्रीय सदस्य कोइरालाले सभापति देउवाकै कारण काँग्रेसले प्रतिगमन हुन नदिन र भइसकेपछि विरोधमा सशक्त भूमिका खेल्न नसकेको बताए ।

‘मुख्य प्रतिपक्षी दल भएर हामी काँग्रेसले पनि खेल्नुपर्ने जति आफ्नो भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौ, उनले भने ‘तर अब सबै एक भएर अगाडी बढ्नपर्छ।’ नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसलालाई मान्न तयार रहेको तर अदालतको बहनामा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन कहिल्यै नचाहेको बताए।

काँग्रेस सभापति शेरबहादुर देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नबोल्न पार्टीमा रुलिङ गरेको तर आफूहरूकै कारण उहाँ प्रम ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी हो भनेर बुझ्न र बोल्न बाध्य भएको दाबी गरे ।शनिबार विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले व्यक्तिगत स्वार्थमा काँग्रेस ढुलमुलिँदा देश र राष्ट्रको भविष्य संकटमा पर्ने बताए। उनले ढुलमुले चरित्र परित्याग गरेर नेपाली काँग्रेस प्रतिगमनविरुद्धको आन्दोलनमा एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा काेइरालाकाे जाेड थियाे ।