जुवाखालबाट उठेकाे रकम खल्तिमा राख्ने एसपी गुरुङ माथि छानविन सुरु

सोमवार, माघ ५, २०७७

माघ ५, गोरखा । गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जुवाखालबाट बरामद गरेको रकम लामो समयसम्म राजस्वमा दाखिला नगरेको विषयमा प्रदेश प्रहरी कार्यालयले छानविन थालेको छ ।

एसपी गुरुङले दशैँ अघि  विभिन्न मितिमा जुवाखालबाट बरामद भएको रकम आफैंसँग राखेको विषयमा  विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । यसबारे प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानविन थालेको डिआइजी घनश्याम अर्यालले बताए ।

‘हामीले आन्तरिक छानविन थालेका छौं, सबै कुरा बाहिर ल्याउनुपर्छ भन्ने छैन’ उनले भने, ‘छानविन गर्दैछौं, दोषी देखिए कारवाही हुन्छ यसमा ढुक्क हुनुहोस् ।’

दशैं तिहारको विचमा मातहतका प्रहरी इकाईले बरामद गरेको करीव १ लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्व खातामा जम्मा भएको छैन ।

एसपी गुरुङले गाेरखा जिल्ला प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हाले देखि जघण्य अपराधका घटनाहरुमा समेत छानविन नगरी मिलापत्र गराउने गरेकाे पाइएकाे छ । जनप्रतिनिधीहरुलाइ साक्षी राख्दै बलत्कार देखि हत्या सम्मका घटनाहरुमा मिलापत्र गराउने गरेका हुन् । यसबाट गाेरखा प्रहरीले दिने सुरक्षाका विषयमा सर्वसाधारण नागरिकहरुकाे विश्वास घट्दै गएकाे छ ।