जसपा गाेरखाले गर्याे सँसद विघटनकाे विराेध

बिहिबार, माघ ८, २०७७

गोरखा । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी गोरखाले सदरमुकाममा विरोध प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको निर्णय गर्नु असंवैधानिक भएको भन्दै पार्टीले   विरोधसभा गरेको हो ।

हरमटारीचोक स्थित जिल्ला पार्टी कार्यालयबाट शुरु भएको र्याली शक्तिचोक हुँदै बसपार्क पुगि पुन: हरमटारी चाेक फर्किएको थियो । र्यालीका सहभागीहरुले संसद पुनस्र्थापना हुनुपर्ने, राष्ट्रपति र प्रधानमन्त्रीलाई कारवाही गर्नुपर्ने, रेशम चौधरी सहितका राजवन्दीहरुको रिहाई गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

कोणसभामा बोल्दै जनता समाजवादी पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रको पथमा हिँडेको बताए ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरि संसद विघटन गर्दा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले विरोध गरेको स्मरण गर्दै आफूलाई पुष्पलालको अनुयायी बताउने प्रधानमन्त्री ओलीले अहिले आफैंले संसद विघटनको सिफारिस गरेर महेन्द्रपथमा लागेको बताए ।

प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद पनि छोडेको र आफ्नो कार्यालयबाट पुष्पलाल र मदन भण्डारीको फोटो हटाएर महेन्द्र र ज्ञानेन्द्र शाहको फोटो राख्न उनले ओलीलाई सुझाव समेत दिएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य राजेन्द्र खनाल, जिल्ला पार्टी उपाध्यक्ष शान्ता न्यौपाने, सचिव विपिनचन्द्र ढकालले मन्तब्य ब्यक्त गरेका थिए ।