नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश साधारण सभा फागुन १ मा हुने, पत्रकार शर्मालाई पुरस्कारबाट सम्मान गरिने

बुधबार, माघ १४, २०७७

माघ १४, पाेखरा । नेपाल पत्रकार महा संघ गण्डकीको साधारण सभा फागुन एक गते पोखरामा हुने भएको छ।
समितिको यही माघ १२ र १३ गते तनहुँको दमौलीमा सम्पन्न पूर्ण बैठकलेे उक्त निर्न्णय गरेको हो । बैठकलेे स्व. रूद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा सञ्चालित “स्व. रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६” बाट कास्कीका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा लाइ सम्मानित गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुहोस् बैठकका निर्णयहरुको पूर्ण पाठ
१. स्व. रूद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा सञ्चालित “स्व. रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६”का लागि सल्लाहकार रवीन्द्रनाथ बाँस्तोलाको संयोजकत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा , पुरस्कारका संस्थापक तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई , प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल र महासचिव गणेश पौडेल सदस्य रहने गरी गठित प्रतिभा छनौट समितिबाट सिफारिस भइआएको पुरस्कृत हुने व्यक्तित्व कास्कीका वरिष्ठ पत्रकार माधव शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरिएको छ । पहिलो पटक प्रदान गर्न लागिएको यस पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ नगद रहेको छ । पुरस्कृत हुन लाग्नुभएका व्यक्तित्व माधव शर्मा वि.सं. २०२८ देखि पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
२. नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले स्मारिका प्रकाशन गर्ने र स्मारिका प्रकाशनका लागि प्रदेश समिति सदस्य राजेन्द्र न्यौपानेको संयोजकत्वमा सदस्यहरू सन्तोष गौतम , अञ्जना तिमिल्सिना , रामजीप्रसाद लम्साल र गोविन्दप्रसाद सुवेदी सदस्य रहने गरी स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ ।
३. प्रदेश समितिको साधारणसभा आगामी फागुन १ गते पोखरामा गर्ने निर्णय गरिएको छ । साथै, साधारणसभा सम्पन्न गर्न निम्नानुसार उपसमिति गठन गरिएको छ ।
आर्थिक उपसमिति संयोजक ः गणेश पौडेल
मञ्च तथा अतिथि सत्कार संयोजक ः इन्द्रप्रसाद पौडेल
प्रचारप्रसार संयोजक ः रूद्रबहादुर श्रीस
४. जिल्ला शाखाहरूबाट सिफारिस भइआएका सदस्यताबारे आवश्यक निर्णय तथा तत्सम्बन्धमा प्राप्त भइआएका उजुरीबारे आवश्यक छानविनका लागि अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा र महासचिव गणेश पौडेल रहनुभएको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । साथै, सदस्यता सम्बन्धमा जिल्ला शाखाहरूबाट सिफारिस गरिएको मिति भन्दा अगावै प्राप्त उजुरीबारे सम्बन्धित फाइल झिकाइ आवश्यक निर्णय लिने निर्णय गरिएको छ ।
५. प्रदेश समितिको आ.व. ०७६÷०७७ को लेखा परीक्षणका लागि लेखा परीक्षकका रुपमा दर्तावाला लेखा परीक्षक नारायण उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
६. नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको बैठकको व्यवस्थापन गर्न सहयोग गर्ने तनहुँ जिल्ला शाखालाई विशेष धन्यवाद दिने निर्णय गरिएको छ ।
७. यस बैठक पछिल्लो समय निकै चर्चा पाएको तनहुँ जिल्लाको मानुङकोटलगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले प्रसिद्ध पर्यटकीय स्थलहरूको प्रचारप्रसार र विकास एवं आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराएको सचिव रूद्रबहादुर श्रीसले जानकारी दिए।बैठक प्रदेश अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको थियो ।