छिम्केश्वरी क्षेत्रकाे विकास नगरी आँवुखैरेनी र तनहुँकाे विकास सफल हुँदैन : मन्त्री चुमान

शुक्रबार, माघ १६, २०७७

आँबुखैरेनी, १६ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित जिल्लाकै सबैभन्दा अग्लो डाडाँमा रहेको धार्मिक पर्यटकिय स्थल छिम्केश्वरीलाई नचम्काई आँबुखैरेनी र तनहुँको  विकास हुन असम्भव हुने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताएका छन्।

शुक्रबार आँबुखैरेनी गाउँपालिका २ मार्किचोक तिलवारीमा अवस्थित आधारभुत स्वास्थ्य केन्द्रको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले यस्तो कुरा बताएका हुन् । गन्तव्य स्थानकाे विकासले अन्य स्थानकाे विकासमा सहयाेग पुर्याउने उनले बताए ।

 

कार्यक्रममा सम्बोन्धनकै क्रममा मन्त्री चुमानले जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थान छिम्केश्वरीको प्रवद्र्धन नगरेसम्म आँबुखैरेनीको समग्र विकास सम्भव नहुने भएकैले सो क्षेत्रको प्रवद्र्धन र विकासका लागि आफु लागिपरिरहेको बताए । सोहि उद्देश्य अनुरुप आँबुखैरेनी–छिम्केश्वरी सडक निर्माणको लागि ५० करोडको बजेट मार्फत अहिले बाटो निर्माणको काम भैरहेको र बजेट थपिदै जाने उनले बताए ।

यस्तै, प्रदेश सरकारबाट छिम्केश्वरी माई मन्दिर आसपास बाटो निर्माणको लागि हरेक वर्ष ४० लाख रुपैंया छुट्याईएकोमा सधै पूरा रकम खर्च हुन नसकेर फिर्ता पठाउने गरेको पनि उनले जानकारी गराएका छन् । नेतृत्वले बजेट दिने तर स्थानीय तहले सही परिचालन नगर्दा समस्या हुने गरेकाे उनले बताए ।

मन्त्री चुमानका अनुसार आँबुखैरेनीमा छिट्टै १५ बेडको अस्पताल स्थापना गर्ने लक्ष्य रहेकाे छ । अस्पताल कुन स्थानमा बनाउने र उपयुक्त सरकारी खाली जग्गाको खोजी भैरहेको उनले बताए । यसको लागि ढकालटारको सेना गणको तल्लो खण्ड खाली जग्गा उपयुक्त हुन सक्ने र सोही स्थानमा अस्पताल बनाउने बिषयमा सरकारसँग पहल भएको मन्त्री चुमानको भनाई रहेको छ । कार्यक्रममा आँवुखैरेनी गाउँपालिका अध्यक्ष गीर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पाेखरेल, वडा अध्यक्ष कटक बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।