बर्डफ्लू सङ्क्रमण पुष्टिसँगै नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

आइतवार, माघ १८, २०७७

काठमाण्डौ १८ माघ । बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, पाँच सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसङ्क्रमण तुल्याइएको पशुसेवा विभागका वरिष्ठ पशुविकास अधिकृत चन्द्र ढकालले बताउनुभयो । रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् । भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो ।

सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षका युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आग्रह गर्नुभएको छ । विश्व स्वास्थ सङ्गठनका अनुसार मानिसलाई सङ्क्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।