पर्यटन

रणसिँ दलका राम्जी बस्नेत गाेरखा दाैड प्रतियाेगितामा प्रथम

By मनासलु

January 11, 2021

पुस २७, गाेरखा । गोरखामा २९९ औं पृथ्वीजयन्तीको अबसरमा आज भएको खुल्ला दौड प्रतियोगिताको उपाधी नेपाली सेनाका राम्जी बस्नेतले जितेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गण गोरखामा कार्यरत बस्नेतले निर्धारित दुरी २३ दशमलव २५ मिनेटमा पुरा गर्दै पहिलो हुन सफल भएका हुन । प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले निर्धारित दुरी २५ मिनेट २५ सेकेण्डमा पुरा गर्दैै दोस्रो भएका छन् ।

प्रतियोगितामा पूर्णबहादुर गुरुङले निर्धारित दुरी २५ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए भने नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै चौथो र सुमन मगरले २६ मिनेटमा निर्धारित दुरी पार गर्दै पाँचौ भए ।

तत्कालिन राजा द्रव्य शाहाले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङ्ग चौताराबाट सुरु भएको दौड प्रतियोगिता सतिपिपल हुदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपीचोक हुदै पदेलीबाट ठुलो आँगनसम्म दुरी कायम गरीएको थियो । प्रतियोगिता अन्र्तगत भएको महिला खुल्ला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पबित्रा बयलकोटीले जितेकी छन् ।

उनले निर्धारित दुरी ३२ मिनेट ८ सेकेण्डमा पुरा गर्दै प्रथम भएकी हुन । महिला तर्फको खुल्ला दौड प्रतियोगितमा नेपाली सेनाकी र्सिजना पौडेलले निर्धारित दुरी ३२ मिनेट १९ सेकेण्डमा पुरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै तेस्रो तथा संगिता रानाभाटले ३४ मिनेट ४६ मिनेटमा दुरी पार गर्दै चौथो स्थान हासिल गर्ने सफल भएका आयाेजक सँस्थाका सुमन गुरुङले जानकारी दिए ।