ओली सरकारले भ्रष्टचारमा विकास गरेकाे छ : काँग्रेस नेता सिटाैला

सोमवार, फाल्गुन ३, २०७७

काठमाडौँ। संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आफैंले हस्ताक्षर गरेर जारी गरेको संविधान प्रधानमन्त्री केपी शर्मा ओलीले धज्जी उडाएको आरोप लगाएका छन्।

झापाको चन्द्रगढीमा सोमबार आयोजित नेपाली कांग्रेस झापाले आयोजना गरेको प्रतिगमनविरूद्धको विरोध सभामा बोल्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिटौलाले भने, ‘आफैंले हस्ताक्षर गरेर दुई तिहाइ बहुमत सदस्यको संविधान सभाले जारी गरेको संविधान प्रधानमन्त्री ओलीले किमार्थ पालना गरेका छैनन्।’

‘नेपालको संविधानमा प्रधानमन्त्रीले जस्तोसुकै अवस्थामा पनि संसद विघटन गर्न पाउने व्यवस्था छैन, मस्यौदा समितिको सभापति म आफैं हुँ। कुन धाराको कुन खण्डमा प्रधानमन्त्रीलाई विशेष अधिकारअन्तर्गत संसद विघटनको अख्तियारी छ ?, नेता सिटौलाले प्रश्न गरे, ‘त्यो आफूलाई थाहा छैन।’

पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री ओलीले सनकका भरमा संसद विघटन गरेको उनले बताए।

उनले भने, ‘खुब विकासका कुरा गर्छन् प्रधानमन्त्री ओली। तर, आफ्नै जिल्लाको त्यसमा पनि ०६२/०६३ को जनआन्दोलनमा सहादत प्राप्त भूमिमा निर्माणाधीन जिपी भवनमा एउटा पनि इँट्टा थप्ने काम गरेका छैनन्।’

वर्तमान सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताउँदै सिटौलाले भने, ‘ओली सरकारले भ्रष्टाचारमा चाहिँ साँच्ची नै विकास गरेको छ।’

सिटौलाले सरकारले सबैतिर सेटिड। मिलाएर संसद पुनर्स्थापना टार्न खोजेको आरोप लगाएका छन्। सरकार अदालतसम्म सेटिङ मिलाएर संसद पुनर्स्थापना हुन नदिने षड्यन्त्र गरिरहेको उनको दाबी छ।

उनले सरकारका सबै अंगलाई स्पष्ट शब्दमा भने, ‘तपाईं ओली सरकारको कर्मचारी हो भने नेपाली कांग्रेसको भन्नु केही छैन, होइन भने नेपाल सरकारको जुनसुकै ओहोदामा भए पनि त्रासमा नपरी, प्रभाव र दबावमा नपरी, स्वतन्त्र र निष्पक्ष ढंगबाट संविधान अनुसार संसद विघटनको विषयमा फैसला गर्नुहोस्।’

उनले ३ करोड नेपाली जनताको अन्तिम भरोसाको केन्द्र नै अदालत भएको बताउँदै जनताले अदालतलाई हेरिरहेकोले जनताको पक्षमा फैसला गर्न उनले आग्रह गरे। ‘संविधानमा व्यवस्था नभएको कुरालाई अदालतले किमार्थ सही ठहराउँदैन। अदालतसँग नेपाली जनताले त्यो क्षमता र विश्वास राखेका छन्।’

सिटौलाले झूटको राजनीति गरेर कम्युनिष्टहरू सत्तामा पुगेको बताउँदै भने, ‘अझै कति जनतालाई ढाँट्नुहुन्छ प्रधानमन्त्रीजी ? अब त बुद्धि सपार्नुस्।’

कार्यक्रममा जिल्लाका ५ वटै क्षेत्रबाट हजारौं कार्यकर्ताको सहभागिता थियो।