रेडक्रस स्वय‍‍ँसेवकहरुकाे लगानीका कारण स्थापित भएकाे हाे : मन्त्री न्याैपाने

शनिबार, फाल्गुन ८, २०७७

घ्याल्चाेक, गाेरखा । नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाका मन्त्री राजेन्द्र न्याैपानेले मानवीय सँस्था नेपाल रेडक्रस साेसाइटी स्वयंसेवी भावना भएका मानिसहरुले गरेकाे लगानीका कारण स्थापित भएकाे बताएका छन् । रेडक्रसमा लागेर मानिसहरु चर्चामा आए, सामाजिक रुपमा स्थापित भए भनेर मानिसहरुले भन्ने गरेकाे र सबैलाइ चर्चित बन्ने इच्छा हुने गरेकाे बताउँदै उनीहरुले सामाजिक उत्तरदायित्व वहनका लागि दिएकाे समय र जीवनका उर्वरशील उमेरमा गरेकाे लगानीलाइ  कमजाेर आँकलन हुने गरेकाे उनले बताए ।

नेपाल रेडक्रस साेसाइटीका स्वयंसेवकहरुलाइ राजनैतिक भर्ती केन्द्रकाे रुपमा भर्ना गर्न थालिए यसले भविष्यमा सामाजिक उत्तरदायित्वकाे भावना कमजाेर हुने र दुरदराजकाे विकास र पहुँच नभएका नागरिकहरुकाे सेवामा जाेखिम बन्ने खतरा रहेकाे बताए । रेडक्रसका सात सिद्धान्त कण्ठ हुँदैमा रेडक्रसकर्मी नहुने बताउँदै सिद्धान्तलाइ कार्यन्यवनमा ल्याउन आफैबाट सुरु गर्नुपर्ने उनकाे भनाइ थियाे ।

गण्डकी गाउँपालिका स्थित घ्याल्चाेक उपशाखाकाे साताैँ उपशाखा सभालाइ सम्बाेधन गर्दै मन्त्री न्याैपानेले साे कुरा बताएका हुन् । केन्द्रमा रहेकाे अनियमितताका कुरालाइ लिएर जिल्ला र उपशाखा स्तरमा पुगेर स्वयंसेवी मनहरुलाइ विचलनमा ल्याउन नहुने भनाइ राख्दै सँस्थालाइ अझै चलायमान बनाउन धेरै नागरिकहरुलाइ यसमा गाेलबद्ध गर्नुपर्ने बताए । नेपाल रेडक्रस साेसाइटीलाइ नयाँ उचाइमा पुर्याउन स्वयंसेवी भावना भएका आत्मनिर्भर नागरिकहरुले जिम्मेवारी सहित नेतृत्व लिनुपर्ने समय आएकाे उनकाे भनाइ थियाे ।

कार्यक्रममा गण्डकी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले रेडक्रस र रगत एक अर्कामा परिपूरक रहेकाे बताए । घ्याल्चाेक उपशाखाका लागि एम्बुलेन्स खरिद गर्न वडाबाट रकम उपलब्ध गराएकाे तर राज्यकाे झण्झटिलाे प्रक्रियाका कारण याे वर्ष नसकिने अवस्थामा पुगिएकाे बताउँदै प्रक्रिया पूरा  भएका दिन एउटा एम्बुलेन्सका लागि लाग्ने खर्च वडाबाट पुन: उपलब्ध गराउने बताए । गण्डकी गाउँपालिकामा विपदकाे समयमा रेडक्रसले पुर्याएकाे सहयाेग अविष्मरणिय रहेकाे उनले बताए ।

वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मीले उपशाखाहरुलाइ पालिका स्तरमा पनि गठन गरी जिल्लाबाट गरिने काम पालिका तहबाट गर्न पहल गर्नुपर्ने बताए । जिल्ला तहबाट जाेखिम न्यूनिकरणका लागि पालिका र वडा स्तरमा पुगेर प्रशिक्षणमा सहजिकरण गर्नुपर्ने आवश्यकता रहेका उनले बताए ।

यसैगरी सामाजिक व्यक्तित्व वासु रेग्मीले युद्धका समयमा मानवीय भावनाले स्थापना भएकाे सँस्था रेडक्रसले दुखका समय नागरिकहरुकाे सेवा गरिरहेकाे बताए ।

घ्याल्चाेक उपशाखा सभापति चिरञ्जिवी रेग्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव प्रकाश रेग्मीले गरेका थिए । कार्यक्रममा सचिव र काेषाध्यक्षले प्रस्तुत गरेकाे प्रतिवेदन माथि छलफल भइ पारित भएकाे थियाे । कार्यक्रममा घ्याल्चाेक उपशाखाका आजीवन, विशिष्ठ र यशस्कर सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।