एउटामा राँगो अर्कोमा गोरु भेटेनौ कि त जोत्नलाइ अरु ?
यस्तो अचम्म के देख्नु पऱ्यो ! के भयो अर्को बेच्यौ कि मऱ्यो ?
कहाँ गयो अर्को गोरु त्यो हलको ? नसक्ने भो कि काम गर्न बलको ?
थल बस्यो कि गोरु त्यो अर्को ? ल्यायौ कि राँगो फुकाइ घरको ?
एउटालाई काट्नी अर्कालाई पुज्नी भयो कि राँगो त्यो कुरा बुझ्नी ?
तर्सियो कि कतै काट्छन् भनेर आयो कि बच्न गोरु बनेर !
गोरु पो हो कि जोडा त्यो पिर्नी हुल आफ्नो छोडी अर्कोमा छिर्नी !
हो कि पो कतै त्यस्तै गतिको राँगो पो रोज्ने भैँसे मतीको ?
नारिए आज किन एक ठाउँ ? दुई थरि नश्ल दुई थरि नाउँ !
बेग्लै छ शक्ति बेग्लै जिउडाल मिल्ला त हिँड्दा खुट्टाको चाल?
एउटा तर्किन्छ हिलोमा पस्न अर्को तम्सिन्छ त्यहीमाथि बस्न !
एउटा छ आहाल खेल्नी गरेको अर्को छ सुख्खा भीरमा चरेको !
हिले र धूलेको के मिल्ला रथ ? बेग्लै छ बानी बेग्लै छ पथ !
न मिल्छ बानी न मिल्छ बल जोत्लान् कसरी नमिल्दो यो हल ?
जोत्दामा यस्ता होला कस्तो खेती ? किसानै उस्ता बुझ्दैनन् त्यति !
हल गोरु जोत्दामा नभएको जोताइ होला त कतै यो लीला देखाइ ?
अर्जुन राज पन्त बाग्लुङ मुलपानी (कवि पहिलो व्यङ्ग्यकाब्य ‘कोइली’का समेत लेखक हुन)