महिला खुल्ला दौड प्रतियोगिताको उपाधि पवित्रा वयलकोटीले जितिन

सोमवार, फाल्गुन २४, २०७७

गोरखा । १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोरखा सदरमुकाममा महिला खुल्ला दौड प्रतियोगिता सम्पन्न भएकाे छ ।

आज भएको महिला खुल्ला दौड प्रतियोगिताको उपाधि पवित्रा वयलकोटीले जितेकी छन् । निर्धारित दूरी ११ मिनेट ३४ सेकेण्डमा पार गर्दै पवित्रा विजेता बनेकी हुन् । उनले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतियोगितामा नेपाली सेनाकी जैसरा राई दोस्रो र रेनुका राई तेस्रो भए । उनीहरुले निर्धारित दूरी क्रमशः ११ मिनेट ५९ सेकेण्ड र १२ मिनेट १८ सेकेण्डमा पार गरे । उनीहरु रिपु मर्दन गण गोरखामा कार्यरत छन् । प्रतियोगितामा दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

गोरखा सदरमुकामको हरमटारी खेल मैदानबाट सुरु भएको दौड बसपार्क, ठूलोआँगन, पाटेचौर, अस्पताल मार्ग हुँदै पुनः खेलमैदानमा आएर टुंगिएको थियाे । खेलका गतिविधिमा महिलाहरु पनि पुरुष सरह भाग लिन सक्छन भन्ने उदेश्यलाइ देखाउन नारी दिवसकाे दिन पारेर प्रतियाेगिताकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने नारा सहित मार्च ८ का दिन आज विश्व भरी महिला दिवस मनाउने गरिन्छ ।