समाचार

गोरखाका ४३ वटा ग्रामीण सडकलाई अस्थायी रुट कायम

By मनासलु

March 04, 2021

 गाेरखा ।  गोरखाका ४३ वटा ग्रामीण सडकलाई अस्थायी रुट कायम गरिएको छ ।  माघ १५ गते बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले ग्रामिण क्षेत्रका सडकलाई अस्थायी रुट कायम गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गाेरखाका शाखा अधिकृत हर्क राेकाले बताए ।

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिमा सुरक्षा निकाय, सडक पूर्वाधारसँग सम्बन्धित कार्यालयका प्रमुख र प्रतिनिधि, यातायात ब्यवसायी लगायत सदस्य रहन्छन् । समितिले सम्बन्धित पालिकाबाट प्राप्त सिफारिस समेतको आधारमा अस्थायी रुट कायम गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकामबाट विभिन्न ठाऊँमा बाटो निर्माण भै यातायातका साधन सञ्चालन हुँदै आएपनि समितिले रुट कायम भने गरेको थिएन ।

यातायात ब्यवसायीको माग, स्थानीय तहहरुको सिफारिस लगायतको आधारमा अस्थायी रुट कायम गरिएको समितिका सदस्य एवम् पूर्वाधार विकास कार्यालयका इन्जिनियर गणेश सुवेदीले बताए ।

गोरखा–आँबुखैरेनी सडक भने यसअघिनै स्थायी रुट कायम भएको छ । सोही सडकसँग जोडेर ४३ वटा सडकखण्डमा अस्थायी रुट कायम गरिएको हाे ।

अहिले कायम भएका अस्थायी रुटहरुमा चल्ने सार्वजनिक सवारी साधनका लागि वैज्ञानिक भाडादर निर्माणको काम  हुने  अस्थायी मार्ग तथा भाडा निर्धारण हुने उनले बताए ।

सडकको दूरी सहितको भाडादर प्रस्ताव गर्न पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने पनि समितिको बैठकले निर्णय गरेको छ । कार्यालयले प्रस्ताव गरेको भाडादर समितिले पारीत गरेपछि अस्थायी रुट कायम भएका सबै सडकखण्डको भाडादर पुन निर्धारण हुने भएकाे छ ।