मनकामना मन्दिरमा भक्तजनलाइ पुजा नराेक्न स्थानीय नागरिकहरुकाे सुझाव

शुक्रबार, बैशाख १०, २०७८

मनकामना १०,गाेरखा ।  नेपालको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको मनकामना मन्दिरमा कोरोनाको जोखिमका कारण पुजा गर्नका लागि रोक लगाएपछि भक्तजनहरु ढोका बाहिर नै पुजा सामग्री चढाएर फर्कन थालेका छन् । कोरोना भाइरसको दोस्रो चरणको लहर तिव्र गतिमा फैलदै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले बैशाख महिनाभरि मन्दिरमा पुजा गर्न रोक लगाएसंगै भक्तजनहरुले मन्दिर बाहिर नै पुजा गरेर फर्कने गरेका स्थानीयबासी नरेन्द्र श्रेष्ठले जानकारी दिए।

जिल्ला स्तरीय कोरोना संक्रमण व्यवस्थापन केन्द्रको बैठकले मंगलबार जिल्ला भित्रका सवै मठमन्दिरमा नित्य पुजा बाहेकका पुजाआजामा रोक लगाउने निर्णय गरेपछि मनकामना मन्दिरमा पनि पुजाआजा रोकिएको थियो । ‘मन्दिरमा पुजाआजा रोकिएपनि भक्तजनहरु आउने क्रम भने रोकिएको छैन,उनले भने, मन्दिर बाहिर नै पुजा गर्दै भक्तजनहरु फर्कन थालेका छन् ।’ मन्दिरमा पुजा रोकिएको भएपनि सयौ भक्तजनहरु आउदै फर्कने गरेको मनकामना मन्दिर जिर्णोद्धार समितिका संयोजक समेत रहेका श्रेष्ठले जानकारी दिए ।

मन्दिरको बाहिरी ढोका लगाइएको ताला समेत भक्तजनहरुले आफैले खोलेर मन्दिर भित्र प्रबेश ढोका बन्द रहेको मन्दिरमा पुजा गर्ने सुरु गरेका हुन । ‘मन्दिरको मूलढोका बन्द गरिएको छ, श्रेष्ठले भने, ‘तर भक्तजनहरु बाहिर नै पुजाका सामाग्री लगेर पुजा गर्छन अनि फर्कन्छन ।’ मन्दिरमा पुजापाठ रोकिएको भएपनि यातायात तथा केवलकार समेत नियमित सञ्चालनमा रहेकाले संयौ भक्तजनहरु मन्दिरमा पुग्ने गरेको उनकाे भनाई छ ।

मन्दिरमा पुग्ने भक्तजनहरुलाई मन्दिर बाहिर नै भएपनि पुजाआजाका लागि स्थानीय क्लबले सहयोग गरिरहेको श्रेष्ठले बताए । ‘क्लबका स्वयंसेवकहरुले सामाजिक दुरी कायम गर्ने गरी बाहिरै भएपनि पुजा गर्नका लागि सहयोग गरिरहेका छन् उनका अनुसार स्थानीयबासीहरुले समेत मन्दिरमा सामाजिक दुरी कायम गरि श्रद्धालु भक्तजनहरुलाई पुजा गर्न दिनुपर्ने माग गरेका छन् ।’

जिल्ला स्तरीय कोरोना संक्रमण व्यवस्थापन केन्दको मन्दिरमा पुजा रोक्ने निर्णयको स्थानीयले बिरोध समेत गरेको छन् ।  ‘धर्म प्रति नै अनास्था फैलाउने गरी प्रशासनबाट काम भएको छ अनुभूति स्थानीयले गरेका छन्’ श्रेष्ठले भने,परिस्थिती बुझेर मात्र निर्णय गरेको भए उपयुक्त हुन्थ्यो ।’ स्थानीयबासीहरुले भेला गरेर बन्दाबन्दी नहुदासम्म भक्तजनहरुलाई मन्दिर आउनबाट रोक्न नसकिने जानकारी गराउने निर्णय गरेका छन् ।

‘सडक खुल्ला छ, केबलकार खुल्ला छ, भक्तजनहरु सवारी रिर्जब गरेर आउछन्’ थानियबासी दिनेश जोशीले भने, ‘सरकारको सहयोग बिना हामीले मात्र उनीहरुलाई रोक्न सक्दैनौ’ । उनले मन्दिरमा आएका भक्तजनहरुलाई भाैतिक दुरी कायमगरी मन्दिरको मुल ढोका बाहिर नै भएपनि पुजा गरेर पुजा गराएर फर्काउनु आफुहरुको बाध्यता रहेको बताए। मन्दिरमा पुगेका भक्तजनहरु प्रहरीले पुजा गर्न रोक लगाएपछि आज बिहान प्रहरी र भक्तजनहरु बिच बिबाद समेत भएको उनकाे भनाई छ ।

पुजा गर्न पाउनुपर्ने भक्तजनहरुको माग र पुजा गर्न नदिने प्रहरीको अडान पछि केही बेर बिबाद समेत भयो, जोशीले भने, स्थानिय युवाहरुले आएका जति पनि श्रद्वालु भक्तजनलाई ढोकामा पुगेर पुजा गर्न दिईनु पर्ने भने पछि सबैको सहमतिमा श्रद्वालुहरुले ढोकामा नै पुजा गरेर फर्कन थालेका हुन् ।’