गोरखा ।जिल्लाकाे दराैदी वगरमा कुलाे माथि र नदी तल पर्ने गरी गाेरखा नगरपालिकाले दरौंदी नदिमा भएको नदिजन्य पदार्थ उत्खनन् गर्न दिएकाे किसानहरुले बताएका छन् । यसबाट किसानहरु मर्कामा परेका छन् । परम्परागत कुलो मासिने जोखिम बढेको भन्दै बेनीखोला र छेवेटारका किसानले उत्खनन् रोकेका छन् । दरौंदी नदिको बेनीखोलाघाट र बोहोरोबेसी क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन्का लागि गोरखा नगरपालिकाले ठेक्का लगाएको छ ।
उक्त क्षेत्रमा नदिजन्य सामग्री झिक्दा नदि गहिरो हुने र कुलोको मुहान माथि पर्ने समस्या वर्षेनी देखिन थालेको स्थानीय किसानहरुको भनाई छ । त्यसैले नदिजन्य सामग्री उत्खनन्को काम रोक्नु परेको सुन्तले बोहोराबेसी कुलो उपभोक्ता समितिका अध्यक्ष कृष्णजी थापामगरले बताए ।
गोरखा नगरपालिकाले पर्याप्त अध्ययनबिनै दरौंदी नदिमा नदिजन्य सामग्री उत्खनन्को ठेक्का लगाउँदा किसानले वर्षौंदेखि प्रयोग गर्दै आएको कुलो मासिने जोखिम बढेको उनको भनाई छ ।
बेनीखोला नजिकैको कुलोको मुहानभन्दा नदि झण्डै ६ फिट गहिरो भएको छ । हरेक वर्ष हिउँदयाममा खेतमा सिंचाईका लागि कुलो चलाउने गरिएपनि यो वर्ष नदि गहिरो भएकाले किसानले झण्डै १ लाख रुपैयाँ खर्च गरेर कुलो चलाएका छन् । उक्त कुलोको पानी गोरखा नगरपालिका वडा नम्वर ५ र १० का ५ शय ७७ घरधुरी किसानले उपभोग गर्दै आएका छन् ।
सोही कुलोको पानीले सुन्तले र बोहोराबेसी फाँटको झण्डै ५ हजार बिघाहा जग्गामा सिंचाई हुने गरेको छ । वर्षेनी नदि गहिरो हुँदै जाँदा कुलो सञ्चालनमा समस्या पर्दै गएको अध्यक्ष थापामगरको भनाई छ । गोरखा नगरपालिकाले बेनीखोला घाटमा नदिजन्य सामग्री उत्खखन्को ठेक्का युनिक निर्माण सेवालाई दिएको छ ।
यो वर्ष १० लाख ९३ हजार क्युफिट नदिजन्य सामग्री उत्खनन्को ठेक्का लागेको गोरखा नगरपालिकाले जनाएको छ । प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवदेनका आधारमा सो ठाऊँमा उत्खनन्को ठेक्का लगाइएको नगरपालिकाका प्राविधिकहरुको भनाई छ ।
तर किसानहरुले भने उक्त ठाऊँमा नदिजन्य सामग्री उत्खनन् नगराउन नगरपालिकालाई विभिन्न चरणमा ध्यानाकर्षण गराइएको बताएका छन् । गत वर्ष फागुन ९ गते किसानहरुको भेलाले बेनीखोलामा नदिजन्य सामग्री उत्खनन् रोकेका थिए । कुलोको मुहान नजिकै भैरहेको उत्खनन् रोकिएपनि नजिकै फेरि नदिजन्य सामग्री झिक्न थालिएको छ । किसानलाई मर्का पर्ने गरि नदिजन्य सामग्री उत्खनन्को ठेक्का लगाउनुनै गलत भएको पीडित किसान कालुमान कुमालले बताए ।
नहरको स्थायी ब्यवस्था नभएसम्म उत्खनन् रोक्ने किसानहरुको भनाई छ । यस्तै परम्परागत कुलो मासिने गरि नदिजन्य सामग्री उत्खनन् गर्न मिल्ने भनी आइई रिपोर्ट बनाउने कन्सल्टेन्सीलाई कारवाही हुनुपर्ने र सो क्षेत्रमा पुनः प्रारम्भिक वातावरणीय परिक्षण गरिनुपर्ने स्थानीय बासिन्दा एवम् संविधानसभाका सदस्य ज्ञानेन्द्र कुमालले बताए ।
उत्खनन् नरोक्ने हो भने खेतबारीमा सिंचाईका लागि वैकल्पिक ब्यवस्था हुनुपर्ने सुन्तले बोहोराबेसी फाँटका जग्गाधनीहरुको माग रहेको छ ।
साभार : https://www.choicefm.org