साँकेतिक तस्विर

Breaking News

सिरानचाेक गाउँपालिकामा भूकम्प पिडितले किस्ता रकम प्राप्त गर्न प्राविधिकलाइ एक हजार देखि १५ हजार सम्म दिनुपर्ने ,प्राविधिक यादवद्वारा सेवाग्राहिसँग घुस रकम असुलि

By राजेन्द्र न्याैपाने

April 24, 2021

सिरानचाेक, गाेरखा । सिरान्चाेक गाउँपालिका वडा नम्बर ७ का भूकम्प पिडित नागरिकहरुले घर बनाए पछिका किस्ता रकम लिनका लागि हैरानी मात्र बेहाेर्नु परेन । प्राविधिकलाइ उनले मागेजति रकम बुझाउनु पर्याे । घरकाे दाेस्राे र तेस्राे किस्ता लिने क्रममा कम्तिमा रु एक हजार पाँचसय देखि बढिमा १५ हजार सम्म बुझाउनुपर्नै नियम प्राविधिकले बनाएका थिए । यसरी रकम बुझाउँदा कुनै रसिद लिनुपर्दैन न कुनै भाैचर नै भर्नुपर्छ । जनप्रतिनिधिहरुले यस्ताे काम भइरहेकाे बारेमा कल्पना सम्म गर्न सकेका छैनन् । जनप्रतिनिधिलाइ थाहै नदिएर गलत काम गरेका प्राविधिकले वडा नम्बर २ मा पुगेपछि खुलेआम रकम असुलेका छन् ।

भूकम्प पुनर्निमार्ण प्राधिकरणका प्राविधिकहरु छिटाे गरी किस्ता प्राप्त गर्न केही रकम दिनुपर्ने भन्दै गाउँ गाउँ पुग्छन् । जिल्ला देखि केन्द्र सम्म सेटिङ हुन्छ पैसा नदिएर कहाँ आउँछ किस्ता रकम छिटाे भन्दै रकम असुल्ने गर्छन् ।

जिल्लाकाे सिरान्चाेक गाउँपालिका वडा नम्बर २ थालाजुङमा काम गर्ने प्राविधिक सुरेन्द्र कुमार यादवले साेही स्थानका तिलक भण्डारीसँग लिएकाे रु १५ हजार मिडियाले थाहा पाएकाेले फिर्ता गर्नु परेकाे बताए । इकाे प्यानल प्रयाेग गरेर बनाइएकाे भूकम्प प्रतिराेधि घरकाे किस्ता रकम लिनका लागि प्राधिकरणका प्रमुख शुशिल ज्ञवाली देखि नै सेटिङ मिलाउनु पर्ने र त्यसका लागि २५ हजार लाग्ने बताएका यादवले अन्तिममा १५ हजार सम्ममा काम मिलाउन सक्ने गरी रकम लिएका थिए। पक्तिकारकाे सम्पर्कमा आएका यादवले आफूले उक्त रकम सापटी स्वरुप लिएकाे र गाउँमा अर्कै हल्ला चलेपछि माेवाइल बैँकिङ मार्फत फिर्ता गरिसकेकाले यसकाे समाचार नबनाउन आग्रह गरे ।

पछिल्लाे चरणमा थालाजुङमा ४० काे सँख्यामा घर बनिरहेकाे यादवकाे भनाइ छ । घर निर्माण पछिकाे किस्ता रकम छिटाे गरी लिनका लागि केही रकम अनिवार्य दिनुपर्ने नियम यहाँकाे गाउँमा रहेकाे भूकम्प पिडित नागरिकहरु बताउँछन् । रकम नदिए खातामा किस्ता नआउने र दिए छिट्टै आउने यहाँकाे  नियम गाउँलेहरु माझ रहेकाे पाइयाे।

भूकम्प पिडितहरुले छिटाे गरी घर बनाउन भन्ने धारणा पुनर्निमाण प्राधिकरणकाे रहेकाे जिल्ला आयाेजना कार्यन्वयन इकाइ ( अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गाेरखाका गाेरखा प्रमुख रामशरण आचार्य बताउँछन् । कुनै पनि प्राविधिकले सेवाग्राहिसँग आर्थिक लाभ लिएकाे थाहा पाएमा कारवाहीका लागि सिफारिस गरिने उनकाे भनाइ छ ।

यादवले वडामा काम गर्ने सहायक कर्मचारी गाेपिलाल बस्नेत मार्फत ११ हजार रुपैयाँ पठाएर खमारीका जीत बहादुर अधिकारीलाइ फिर्ता गरे । अधिकारीले आफुसँग यादवले दिएकाे दुइ हजार पाँचसय राखेर बाँकी रकम अन्यलाइ फिर्ता दिए । रेट्राे फिटीङका लागि परेका घरहरुकाे किस्ता सिफारिस प्राविधिकले गर्नुपर्ने र त्यसबापत केही रकम लाग्ने प्रावधान यस वडामा रहेकाले रकम उठाउनु परेकाे प्राविधिक यादव बताउँछन् । रेट्राे फिटीङका ४० घरधुरीबाट मात्रै रकम लिएकाे उनले बताए ।

पैसा दिएकाे कुरा कसैलाइ भनेमा किस्ता रकम नआउने सन्देश प्राविधिकले दिएकाले भूकम्प पिडितहरु खुल्न चाहदैनन् । यादवले  खमारी टाेलका नर बहादुर बस्नेतबाट १५००, जीत बहादुर अधिकारीबाट २५००, प्रेम बहादुर थापाबाट २५००, खाेप बहादुर बस्नेतबाट २५००,सीमा बस्नेतबाट १५०० घरमै पुगेर लिए । जामुनेबेशीका भक्त बहादुर भण्डारीकाे घर टाढा भएकाले अफिसमै आएर बुझाउन भनियाे र भण्डारीले वडा कार्यालयमा पुगेर २५०० रुपैयाँ यादवलाइ थमाए ।

सिरान्चाेक ७ का नागरिकहरुले जसरी सजिलै पैसा दिनेमा थालाजुङका नागरिकहरु नरहेकाे यादवकाे गुनासाे रहने गरेकाे गाउँलेहरुले बताएका छन् । तपाइँहरु किस्ता रकम छिटाे चाहियाे भन्नु हुन्छ काठमाण्डाै देखिका मानिसहरुलाइ मिलाउनुपर्छ पैसा नदिए काम गर्दैनन मागे जति दिनुहुन्न भन्दै दिए जति रकम यादवले लिएका हुन् । तेश्राे किस्ताका लागि फाइल अघिल्ला प्राविधिकलाइ पेश गरेका र अहिलेसम्म किस्ता रकम नआएकाले छिटाे गरी ल्याउन बाबुराम बस्नेतले एक हजार मात्र दिए हुने भएकाले उनले एक हजार मात्र दिए । तपाइँकाे पनि दुइ हजार पाँचसय लाग्छ भनेका यादवले दिन्न बरु भनेपछि हुन्छ हजारमा नै मिलाउँछु भनेर यादव भनेका थिए ।

पक्तिकारले सेवाग्राहि बनेर फाेन गर्दा घरका चारै दिशाबाट खिचिएका फाेटा, शाैचालयका फाेटा र गाउँलेहरुले दिए सरहकाे शुल्क लिएर वडा कार्यालय आउन भनेका थिए । सेवाग्राहीसँग रकम लिएका यादवले आफूहरुले सापटी दिएकाे र फिर्ता भइसकेकाे सन्देश दिन आग्रह गर्दै पत्रकारले थाहा पाएमा जागिर समेत जान सक्ने भन्दै घरघर पुगेर गुनासाे गरेका छन् । यादवले ४० घरधुरीबाट मात्रै रकम लिएकाे स्विकार गरेका छन् भने गाउँलेहरुका अनुसार रेट्राे फिटिङमा परेका घर सहित ६५ भन्दा धेरै घरधुरीबाट यादवले रकम उठाए छन् ।

सेवाग्राहिसँग रकम लिएकाे कुरा गाउँपालिका तहमा पुगेपछि पालिका प्रमुखले अनियमितता भएकाे खण्डमा आफूले सँरक्षण गर्न नसक्ने बताएसँगै केही रकम फिर्ता भएकाे खुल्न आएकाे छ । प्राविधिक यादवले विभिन्न तहमा फाेन सम्पर्क गरी समाचार नलेखिदन आग्रह गरेका थिए ।

सेवाग्राहीसँग आर्थिक लाभ लिने तपाइँकाे कार्यालय मातहतका कर्मचारीलाइ के कारवाही हुन्छ भन्ने प्रश्नमा सहरी विकास तथा भवन डिभिजन कार्यालय गाेरखाकी प्रमुख सुनिता श्रेष्ठले लिखित निवेदन आएमा विभागिय कारवाही हुने बताइन ।

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता भगवान अर्यालयले सेवाग्राहिसँग रकम लिने कुरा साेच्न नसकिने  बताए । काम सम्पन्न भएपछि प्राविधिकले सिफारिस गर्ने हाे । यसबाेरमा विस्तृत विवरण पठाइदिन उनले आग्रह गरे ।