आइसाेलेसन निर्माणका लागि पार्टी कार्यालय भवन दिन्छाै‌‌ : नेपाली काँग्रेस

मङ्लबार, बैशाख २८, २०७८

गोरखा । गोरखामा नेपाली काँग्रेसले पार्टी कार्यालयलाई काेभिड अस्पताल बनाउन दिने निर्णय गरेकाे छ । कोभिड १९ को संक्रमण दर उच्च भएसँगै उपचारको लागि अस्पतालहरुमा बेड अभाव भइरहेको भन्दै नेपाली काँग्रेस गोरखाले पार्टी कार्यालयमा रहेका २ वटा हललाई आइसाेलेसन सेन्टरका रुपमा प्रयाेग गर्न दिने निर्णय गरेकाे जिल्ला सचिव नन्दप्रसाद न्याैपानेले जानकारी दिए ।

साेमबार गोरखा कांग्रेसका सचिव न्यौपानेले प्रेस विज्ञप्ति जारी गरेर जनताको जीवन रक्षा गर्नु नै राजनीतिक पार्टीको प्रमुख दायित्व भएको बताउदै पार्टी कार्यालयमा काेभिडका बिरामीलाई उपचार गर्ने गरी आइसाेलेसन सेन्टर निर्माण गर्न डिसिएमसीलाई अनुराेध गरेकाे छ ।

‘हाल जिल्लामा कोरोना भाइरस संक्रमित बिरामीहरुलाई राख्ने आइसोलेशनसहितको बेडहरु बनाउने ठाउको अभाव रहेको छ भन्ने सुन्दा दुख लागेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नागरिकको जीवन रक्षाको लागि नेपाली कांग्रेसको पार्टी कार्यालयमा रहेको विपी गणेशमान मेमोरियल सभाहल(२ वटा) लाई आइसोलेशन केन्द्र निर्माण गरी संक्रमित बिरामीहरुको औषधि उपचार गर्न उक्त सभाहलहरु प्रयोग गर्ने गरी जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र गोरखालाई आवश्यक स्वास्थ्य सुरक्षाको प्रबन्ध गरी आइसोलेशन केन्द्र सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी गराइन्छ ।’

गोरखा उद्योग वाणिज्य संघ गोरखाले आफ्नो भवनलाई कोभिड संक्रमितको उपचार गराउन नदिएपछि नेपाली कांग्रेस गोरखाले सदरमुकामकाे तिनधारेमा रहेकाे पार्टी कार्यालयको २ वटा सभाहललाई आइसोलेशन बनाउन दिने निर्णय गरेको हो ।