
बारपाक सुलिकाेट, गाेरखा । बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर ७ का युवा वडा अध्यक्ष कृष्ण गुरुङ आफ्नाे वडाका टाेल टाेलमा पुगेर स्वास्थ्य जनचेतना जगाउँदै हिडिरहेका छन् । प्रत्येक हप्ता प्रत्येक टाेलमा पुग्ने गरेका अध्यक्ष गुरुङका साथमा अरु जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु रहने गरेका छन् । उनीहरुलाइ साथ दिन शिक्षकहरु प्रत्येक घर घरमा पुग्ने गरेका छन् ।
कुन घरमा कति जना मानिसहरु बस्नुहुन्छ, परिवारका सदस्य कहाँ कहाँ छन हामीलाइ वडा भरीका सवै नागरिकहरुकाे बारेमा थाहा हुन्छ भन्छन शैलपुत्री माविका शिक्षक मदन अँगाइ ।
शिक्षकहरुले भनेपछि नागरिकहरु नियम पालना गर्न सजिलै मान्ने गरेकाे वडा अध्यक्ष गुरुङले प्रत्यक्ष देखेका छन् । आफ्ना वडा भित्रका नागरिकहरुकाे जीवनरक्षार्थ रात दिन खट्दै आएका अध्यक्ष गुरुङ गाेरखाका वडा अध्यक्षहरुमा निक्कै सक्रिय मध्ये अग्रपँक्तीमा आउछन् । उनी भन्छन “मेरा वडावासी नागरिकहरु स्वस्थ रहे मैले साेचेर काम गर्न सक्छु , यदि उनीहरु विरामी परे भने म उनिहरुकै सेवामा खटिनुपर्छ त्यसपछि अरु विकास पछि सर्छ । नागरिकहरुकाे स्वास्थ्य सबै भन्दा ठूलाे कुरा हाे म उनीहरुकाे रक्षार्थ सँधै खट्ने गर्छु । ”
काेही विरामी भए भने उनी आफै एम्बुलेन्स लिएर विरामीकाे घर पुग्छन र स्वास्थ्य सँस्था लैजान्छन् । प्राय सबैका घरमा बुढाबुढी आमा बाबु मात्रै हुने गरे पनि यस वडाका आमा बाबुले भने वडा अध्यक्षलाइ आफ्नै छाेरा भन्दा कम नहेकाे बताउने गरेका छन् । आफ्नाे छाेरा मुग्लान छन् कहिले आउछन था हुन्न कृष्णलाइ फाेन गरे पछि तुरुन्तै आइहाल्छ बाबु भन्नु हुन्छ ६८ वर्षिय देविमाया अँगाइ ।
सामाजिक सेवा गर्न भनेर खाेलिएका सँस्थाहरु फाइल मिलाएर बसिरहेका समय उनले साथीहरुसँग सहयाेग लिएर केही महिना भित्रै वडामा एम्बुलेन्स ल्याइसकेका छन् ।
गाउँका विरामी राख्न शैलपुत्री माविमा आइसाेलेशन कक्ष निर्माण गरेका छन् । ४० लिटर क्षमताका अक्सिजन सिलिण्डर समेत राखेका छन् ।
राेजगार नपाएर भाेकाे बस्नु पर्दैन नागरिकहरु
गाउँमा काम पाइएन भनेर भट्टीमा रक्सी खाने, जुवातास, क्यारेमवाेर्ड, लुडाे खेल्ने मानिसहरु यस वडामा भेटिदैनन् । महिला पुरुष एक समान काम गर्दछन् । राेजगारी नपाएर वेराेजगार भएका नागरिकहरुका लागि काम दिएर खाद्यन्न प्रदान गर्छन गुरुङ ।