१ यता के छ भनेर, उता नगर शंका, आगो बनेर व्यर्थै,जलाईदिन्छ लंका। २ के के गर्न आँटेको छ,यो झरीले पनि, बहुलाएर यति बिघ्न, निष्टुरी बनी। – चिरञ्जीवी ढकाल, राँझा एयरपोर्ट बाँके ।
१ शान्तिको निम्ति किन आह्वान गर्छौं क्रान्ति? यसैले त फिजाउँछ अशान्ति र भ्रान्ति। २ दुई दिनको जीन्दगानी कर्कलाको पानी, प्रीति गाँस्न किन चुकयौ यस्तो जानी-जानी। – अरुण कुमार भुजेल, गोरूबथान, दार्जिलिङ,भारत। १ हिजआज किन हो आफुलाई एक्लो पाउँछु यहाँ, त्यो निस्वार्थ मायाँ अनि हौसला अब भेट्ने छु कहाँ। २ बालेर ज्योति मनको, बाटो उज्यालो बनाऊ, आकाश जस्तो विशाल, भई सबैमा सजाऊ। – पदमा शर्मा आँचल, कालाचिनी भारत ।
१ रहर पनि कस्तो भयो फूल सरि फुल्ने कहिले आउला समय दुख पिर भुल्ने। २ धनजनको क्षति अति सिन्धुपाल्चोक जिल्ला भुकम्प र बाढीले बनायो बिपत्तिको किल्ला। – इश्वरी अधिकारी, लमजुङ
१ मेलन्ची र इन्द्रवती बहुलाउँदै आयो, सुन्दर बजार मेलन्ची सबै नैं बगायो। २ खोसिए घरवारि परिवार कति, रुदैछ यी दुनियाँ कैयौं भयो क्षति। – कमला पाण्डे पराजुली, झापा
१ शिरमा टेक्नैले पिर चिन्दैन, पैसाले असल माया किन्दैन। २ सयौं गुना राम्री छेउ फोटोमा, झनै राम्री रातो चोली भोटोमा। – प्रकाश बुढाथोकी असम, भारत।
१ प्रकृतिले उजाड गर्यो गाऊँ-घर भत्कियो मानिसको सपना-रहर । २ खोला पस्यो जता-ततै लास खोसियो गाँस, वास, कपास । – निरूविन्दु परियार जल्ढक्का कलेबुङ्ग, भारत
१ जिन्दगीभर हुँदैन है कोही साथमा, जीवन मरण उही प्रभुको हातमा । २ बैमान मान्छे म अरूको सुख खोस्ने, यताको कुरा उता गरी आगो झोस्ने । – राजेन्द्र प्रधान पासा, सोनादा, दार्जिलिङ ।
१ जस्तो तिम्रो उस्तै मेराे हाे नि खानदानी , चिसो अनि मीठो लाग्यो त्याे मूलकाे पानी । २ तिम्रो कर्के नजरलाई के गराैँ र हेला, धेरथोर बाँच्ने रहर पलाएको बेला । – केशवप्रसाद ढकाल `प्रीतबीज´ सिरान्चाेक ७, उपल्लो गाेहाेरे, गाेरखा
१ पिरती मनको महिमा छ ठुलो, न त जोख्न मिल्ने ढक हालितुलो। २ भरुँ मूरि कसै भरिंदैन मुठी, अडिदैन कतै चुहिहाल्छ फुटी। – होम प्र. न्यौपाने, धरान
१ म लेख्दै छु टुक्का शब्द भाव जुटाएर, दिनको भोक रातको निन्द्रा छुटाएर । २ हेर्न आउनु मेरी प्रिया कस्ति रैछे तारा ? नेपाल देशकै मुटु हो यो फेवा र रारा । – विनोद रिजाल बेलबारी २ लालभित्ती
टुक्का १ हँसिलो मुहार देख्दा असाध्यै राम्रो, पक्कै होलान भावना उनीमा हाम्रो। २ रुपरङ्ग नहेरी बनाउनुपर्छ साथी, तबमात्र बन्छ इज्जत चाहेभन्दा माथि। -रतन पाण्डे’पारतन’, दार्जीलिङ।
१ किन यो मनमा अनेक ख्याल जाग्छ, छोरी भै जन्मनु नि अभिशाप लाग्छ। २ बलात्कारीको कमी छैन त्यहाँ , महिला राष्ट्रपति छन् त जहाँ। – रिना सापकोटा खनाल
१ खहरे खोला बाढीले होला,आयो बगर ढाकेर, बर्षाले हेर चुनाैती दिन्छ, साक्षी प्रकृति राखेर । २ असारे पानी बाढीको भेलले,धेरै क्षति गरायो, मनसुने झरी परेर आउँदा,जनता डरायो । – वेदु न्याैपाने, काठमाडाैं ।