असार १३, गोरखा । जिल्लाकाे पहाडि क्षेत्रमा बाँदरले किसानहरुलाइ बर्षेनी दुख दिने गर्दछ । आहाराकाे खाेजिमा बाँदर किसानका बारी देखि घरमा राखेका मकैँका डाडी सम्म पुग्दछ । कतिपय गन्ध आउने फलफूल र खेती समेत बाँदरले खाने गरेकाे छ। बाँदरबाट भएकाे क्षतीकाे किसानहरुले दावी गर्न समेत पाउँदैनन् ।
किसानका समस्यालाइ ध्यानमा राखेर जिल्ला वन कार्यालय गाेरखाले बाँदरलाइ बनमा फलफूल खुवाउने कार्यक्रम अघि सारेकाे छ । वनमा बाँदरका लागि जामुन, चिउरी, लप्सी, लमला, हर्रो, बर्रो, लिचि, अम्बा, अमला फलफूल खेती सुरु गरिएको हाे । डिभिजन वन कार्यालय गोरखाले फ्रुट फरेस्टी मोडल कार्यक्रम अन्तर्गत जिल्लाको ४ वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरेको छ ।
जंगलमा आहारा मासिदै गएपछि बाँदरले वस्तीमा छिरेर बाली नष्ट गर्न थालेकाले जंगलमा फलफूल खेती सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अशोक कुमार श्रेष्ठले बताए। सामुदायिक वन उपभोक्ता समुह र डिभिजन वन कार्यालयको लागत साझेदारीमा जंगलमा फलफूल खेतीका लागि बिरुवा रोपेको उनले बताए । फलफूल फल्न थालेपछि बाँदर जँगलमा भूल्ने श्रेष्ठकाे भनाइ छ ।
धार्चे गाउँपालिका ५ गुम्दाको गुमगाङ सामुदायिक वनमा २ हेक्टर र पालुङटार नगरपालिका ९ को दरौंदीडाडा सामुदायीक वनमा २ हेक्टरमा फलफूलका बिरुवा रोपिसकिएको सहायक वन अधिकृत महेश पौडेलले बताए ।
बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको ठामपाखा सामुदायिक वनमा १ हेक्टर र गोरखा नगरपालिका १० को टक्सारटारी सामुदायिक वनमा १ हेक्टर क्षेत्रफलमा बिरुवा रोप्न बाँकी रहेको उहाँको भनाई छ । यस कार्यक्रम अन्तरगत ९ हजार ६ सय विरुवा रोपिने भएको छ ।
डिभिजन वन कार्यालयले बादर आतंक रोक्नका लागि जामुन, चिउरी, लप्सी, लमला, हर्रो, बर्रो, अम्बा, अमला, लगायतका बिरुवा सामुदायिक वनलाई उपलब्ध गराएको हाे । कार्यक्रमका लागि प्रदेश सरकारबाट १० लाख ७८ हजार रुपैयाँ बजेट प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।