गाेरखा । बाटाे पहिराे गएर माछिखाेलाबाट माथि जान समस्या परिरहेका बेला चुम उपत्यकामा रहेका वडा नम्बर ६ र ७ जाेड्ने झाेलुङ्गेपुल आज चुडेकाे छ । मंगलवार रातीको पहिरोले लोक्पा स्थित डुयु खोला पुल भत्काएको स्थानीय सरोज लामाले बताए ।
पुल नभएपछि चुम्चेत र छेक्पार आउजाउमा समस्या भएको छ । ‘मंगलवार बिहान सम्म मानिस आउजाउ गरिरहेका थिए’ उनले भने ‘बुधवार बिहान त पुल पहिरोले बगाएछ ।’ पुल चुँडिदा खाद्यान्न बोकेर गएका खच्चड रोकिएका छन् । ‘चार पाँच ग्रुप (४०,५० वटा) खच्चड पुल चुँडिदा खाद्यान्न सहित रोकिएका छन्’ लामाले भने । उक्त पुल १० वर्ष अघि कादुरी संस्थाले निर्माण गरेको थियो ।
पैदल हिड्नेहरु पुल नहुँदाको भिरको बाटो खोज्दै हिडेका छन् । भारी बाकेर भने उक्त बाटो आउजाउ गर्ने नमिल्ने लामाले बताए । ‘१५ देखि १८ वटा बस्तीका मानिस त्यो पुलबाट आउजाउ गर्छन’ उनले भने ‘अब सदरमुकाम आउन जान, खाद्यान्न ढुवानी गर्न पनि समस्या हुने भयो ।’ सडक सञ्जाल नपुगेको त्यहाँ खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ । खच्चड ब्यवशायी कसरी सामग्री गन्तब्य सम्म पुर्याउने भन्ने अन्यौलमा छन् ।
पुरानो बाटो खन्ने तयारी गरिरहेको स्थानीय सरोज लामाले बताए । चुमनुब्री गाउँपालिकाले त्यहाँको अवस्थाबारे वडा सँग जानकारी लिएर बैकल्पिक ब्यवस्था गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने ‘तत्कालका लागि बैकल्पिक बाटो खोल्ने अवस्था रहेछ भने गाउँपालिकाले सहयोग गर्छ, पुल दुई चार दिनमा बनाउन सक्ने अवस्था हुँदैन, त्यसका लागि पहल गर्छौँ ।’ पुल निर्माणमा सघाउन समस्या नभएकाे तर समय लाग्ने कादुरीले जनाएकाे छ ।
खाद्यन्नका हाहाकार भएर समस्या परिरहेका बेला उत्तरी गाेरखाकाे चुम उपत्यकामा थप समस्या भएकाे छ ।