भदौ २, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेजसँगै पुनर्स्थापित भएको नेकपा एमाले दुइ टुक्रा भएकाे छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटे नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्ता गराएका छन् । थुप्रै पटक दुबै पक्ष सहमतिनजिक पनि पुगे । तर पुनस्र्थापित एमाले एकढिक्का हुन नपाई फुट्न पुगेको छ ।
५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साबिकको सत्तारुढ दल नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको थियो । केन्द्रीय कमिटीमा बहुमत जुटाएको प्रचण्ड-माधव समूहले ओलीलाई दलबाट निष्कासन समेत गरे । तर त्यसले वैधता पाएन, बरु २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता मात्र खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँतायो ।
यससँगै प्रचण्ड र माधव समूह पनि अलग भयो । नेपाल समूह एमालेमै संघर्ष गर्ने भन्दै छुटि्टयो । तर एमाले एक हुन सकेन । एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखे, विधान संशोधन, केन्द्रीय सदस्यहरु मनोनित, जिम्मेवारी हेरफेर लगायतका निर्णय गराए ।
त्यसको जवाफमा नेपाल समूहले पनि चैत ४-५ मा राष्ट्रिय कार्यकर्ता भेला गर्यो । नेताहरुका अनुसार त्यो भेलामा तत्काल नयाँ पार्टी घोषणा गर्नुपर्ने मत बलियो उठेको थियो, तर दोस्रो तहका नेताहरुले न विभाजन, न आत्मसमर्पण भन्ने लाइन अघि सारे । नेपाल समूहले समानान्तर गतिविधि भने जारी राख्यो ।
एकलौटी रुपमा अघि बढेका ओलीले माधव नेपालसहितका नेताहरुलाई ६ महिना निलम्बन गरे । तर जब २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्, नेपाल समूहसँग वार्ता गरे । फेरि अल्पमतको सरकारको प्रधानमन्त्री बने, पार्टीमा सहमति खोज्न कार्यदल पनि बनाए ।
तर फेरि संसद भंग गर्न खोजेपछि एकता भाँडियो । संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा नेपाल समूहका सांसदहरुले हस्ताक्षर गरे । राष्ट्रपतिले प्रधानमन्त्रीमा देउवासँगै ओेलीको दाबी नपुगेको बताएपछि ओलीले प्रतिनिधिसभा विघटन गरे, त्यसविरुद्ध देउवा सर्वोच्च जाँदा नेपाल समूहका सांसदले पनि साथ दिए ।
सर्वोच्चले संसद पुनस्र्थापित गर्दै देउवालाई प्रधानमन्त्री बनाउनु अघिल्लो दिन २७ असारमा एमाले विवाद समाधानका लागि गठिन कार्यदलले १० बुँदे सहमति पनि जुटाएयो । तर ओली र नेपालकै कारण त्यो सहमति पूर्ण रुपमा कार्यान्वयन हुन सकेन ।
सर्वोच्चले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भए र ओली बालुटाबारबाट बालकोट पुगे । त्यहाँबाट उनले नेता नेपाललाई गद्दारको घोषणा गरे । प्रधानमन्त्री देउवाले ३ साउनमा विश्वासको मत लिँदा माधव नेपालसहित २२ सांसद फ्लोर क्रस गर्दै विश्वासको मत दिए ।
त्यसका बाबजुद दोस्रो तहका नेताहरुले सहमतिको प्रयास गरिरहेकै थिए । तर त्यो सफल नहुँदै देउवाले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि माधव नेपालले नयाँ पार्टी बनाएका छन् ।
माधव नेपालको पार्टीमा कोको छन् ?
नेता नेपाल नयाँ दल बनाउने निर्णय पुगेपछि नै प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेर संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएको सत्तारुढ गठबन्धनका नेताहरु स्वीकार गर्छन् ।
अध्यादेशसँगै नेता नेपालले एमालेको निर्वाचन आयोगमा अद्यावधिक २०३ सदस्यीय केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । उनले २०३ मध्ये ५८ जनाको नाम पेश गरेका छन् ।
नेकपा एमाले समाजवादीले चुनाव चिहृन खुला किताब राख्ने बताएको थियो, तर यो अर्कै पार्टीको नाममा भएकाले अहिले चुनाव चिहृनबारे केही बोलिएको छैन । पार्टीको अध्यक्ष माधव नेपाल छन् भने झलनाथ खनाललाई वरिष्ठ नेता राखिएको छ ।