नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

मङ्लबार, भदौ ८, २०७८

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३०, डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो ।

निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर रु १ हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु १ हजार ४५० पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु २ रुपैयाँले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमले जनाएको छ ।

सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विधार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसित माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको भर्त्सना गर्दै तत्काल फिर्ता लिन भएका छन् ।

कोरोना र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई नेपाल आयल निगमले थप पीडा दिने गरी मूल्यवृद्धि गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।