सुविधासम्पन्न भौतिक सँरचना सहित गोरखा अस्पताल निर्माण कार्य सम्पन्न

सोमवार, भदौ १४, २०७८
गाेरखा अस्पतालकाे बाहिरी दृश्य । तस्वीर रामकुमार काेइराला

भदाै १४, गाेरखा । गोरखा जिल्ला अस्पतालको भौतिक निर्माणको काम सम्पन्न भएको कम्पनीले जनाएको छ । २६ करोडको लागतमा निर्माण भएको अस्पताल निर्माणको जिम्मा लुम्बिनि बिल्डर्सले पाएको थियो । २०७२ को भूकम्प पछि पूराना सँरचना भत्काएर नयाँ सँरचना निर्माण भएको हो । अस्पतालमा बनेका सँरचनाहरुमा २ वटा मिटिङ हल, प्रशासनिक कक्ष, पोष्ट अप र प्रि अप कक्ष, डेन्टल डिपार्ट, २ वटा ओपिडि कक्ष, अप्रेशन थिएटर, भिआइपि क्याविन,गाइनो वार्ड, एक्सरे, ब्लडबैँक, लाउन्ड्री लगायतका सँरचनाहरु रहेका छन् ।

१५ मिटर अग्लो पानी ट्याङ्की, ३५ हजार लिटरको ओभरहेड फिल्टर, चौविसै घण्टाका लागि तातो पानी दिने उपकरण जडान भएको छ । प्रत्येक कोठामा भिआरएफ प्रणालीको एयर कन्डिसन, प्रत्येक कोठामा अटोमेटिक फायर फाइटिङ प्रणाली जोडिएको छ । कोठामा धुवाँ देखिए लगतै पानीका फोहोरा अटोमेटिक सप्लाइ हुनेछन् ।
ग्याँस आपूर्तिका लागि मेडिकल ग्याँस पाइपलाइन प्रणाली जडान भएको छ । जसबाट आवश्यकता अनुसार अक्सिजन, नाइट्रोजन र भ्याकुम सप्लाइ हुनेछन् ।

नयाँ बनेको अस्पतालमा सुविधासम्पन्न क्यान्टिन निर्माण भएको छ । प्रत्येक वार्ड, इमरजेन्सी, क्यान्टिन, बाहिर सिसिटिभि मोनिटरिङ राखिएको छ । ६ वटा माइक राखेर प्रत्येक फ्लोरमा लोकल व्यवस्थापन प्रणाली मिलाइएको छ । अस्पताल भित्र लोकल एरिया नेटवर्कलाइ व्यवस्थित गरिएको छ ।
चट्याङको व्यवस्थापन गर्न अर्थिङ र एन्टेना जडान गरि करेन्टलाइ जमिनमा पठाउने गरि प्रणाली जडान भएको निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल परिसरमा सञ्चालन हुने शौचालयलाइ व्यवस्थित गर्न ८ वटा ट्याङ्की गरी यहाँबाट निस्कने दुषित पानी फिल्टर भएर शुद्ध भइ ढलमा जाने प्रणाली जडान भएको छ । अस्पतालमा पिएच करेक्सन ट्याङ्की निर्माण भएको छ ।
सेन्सेटिभ क्षेत्रमा इपोक्सी फ्लोरिङ र एन्टी ब्याक्टोरियल सिलिङ निर्माण भएको छ । अस्पतालमा ६२० केभिएको विद्युत ट्रान्सफर्मर जडान गरिएको छ । अस्पताल परिसरमा गार्डरुम, अस्पताल छिरेसँगै इमरजेन्सि सम्म पुग्न छानो सहितको बाटो निर्माण गरिएको कम्पनीले जनाएको छ । अस्पताल निर्माणमा नेपाल सरकारलाइ सघाउने दाताले निरीक्षण गरेसँगै अस्पताल हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।