शहिदलखनकी विष्णु माया परियारकाे कथा विश्व भरी क्याम्पसका पाठ्यपुस्तकमा प्रकाशित

शनिबार, भदौ १९, २०७८

गाेरखा ।  जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङका रूपबहादुर परियार लुगा सिलाउँदै घर–घर डुल्थे। ‘विष्ट’ (त्यतिबेलाका कथित उपल्लो जातिलाई व्यक्त गरिने शब्द) कहाँ विभिन्न रंगका पोसाक बनाउँदा निस्किएका टुक्रा बटुल्थे। तिनै धरा जोडेर छोरीहरूका लागि फ्रक बनाइदिन्थे।

रूपबहादुरका ११ सन्तान (१० छोरी, १ छोरा) मध्ये पाँचौं अर्थात् ठाइँली विष्णुमाया कक्षा ५ मा पढ्दा स्कुलले  ड्रेस तोक्यो। छात्रले आकाशे नीलो सर्ट र छात्राले गाढा नीलो फ्रक लगाउनै पर्ने। रूपबहादुरको व्यस्तता बढ्यो। धेरै लुगा धपेडीमा सिलाउनुपर्‍यो।

कसैका नेपाली, कसैका चाइनिज, कसैका इन्डियन कपडा थिए। सबैका टुक्रा जोडेर विष्णुमायाको फ्रक बनेको थियो। एक सातासम्म त न सिउनी देखियो, न त फरक रंग नै। तर, जब शनिबार आमाले धोइदिइन्, रंग गएर भिन्दाभिन्दै कपडा छुट्टियो। टाटेपांग्रे बन्यो उनको फ्रक। स्कुलमा सबैले त्यसको नामै राखिदिए, ‘नौरंगी फ्रक।’ उनी त्यही ‘नौरंगी’ फ्रकमा फुरुक्क हुँदै स्कुल पुग्थिन्। त्यसलाई औंल्याउँदै साथीसंगीले ‘नौरंगे’ भन्थे। खिसी ट्युरी र घोचपेच गर्थे।

ती सबै सहेर शिक्षाको उज्यालो घाम तापिरहे विष्णुमाया दिदीबहिनीले। एकातिर चरम गरिबी, अर्कातिर ‘दलित’ हुनुको दोहोरो पीडामा थिए उनीहरू। स्कुलबाट घर फिर्दा वा घरबाट स्कुल जाँदा बाटामा कथित उपल्ला जातिका घर थिए। तिर्खा लाग्थ्यो। पानी खान माग्दा उनीहरूलाई परैबाट हातमा खन्याइदिन्थे। दुई हातको अञ्जुलीमा अडिएको पानीले तिर्खा मेट्नु विवशता थियो। साथीहरूलाई भने गिलास वा अंखोरामा खाने अवसर मिल्थ्यो।

बाल मस्तिष्कमा यसको नमीठो छाप बस्थ्यो। जातीय विभेदको क्रूर अमानवीयता उनीहरूले भोगे पनि बुझेका थिएनन्। बुवा–आमालाई सोध्थे। उत्तर आउँथ्यो, ‘हामीलाई अरूले पानी नचल्ने जात भन्छन्। त्यही भएर भाँडा छुन नदिएका हुन्।’

नेपाली समाजले ‘अछूत’ बनाएकी तिनै विष्णुमाया परियारको संघर्षपूर्ण सफलता अब विश्वभरका विद्यार्थीले कक्षामा पढ्ने भएका छन्। अमेरिकाको उत्कृष्ट तीनमध्येको शैक्षिक प्रकाशन संस्था म्याकग्र हिलले हालै प्रकाशन गरेको पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’ मा उनको जीवनकथा एउटा पाठ बनेको छ। म्याकग्र हिलका लागि लिसा होइफनरले ६९२ पृष्ठको उक्त पुस्तक लेखेकी हुन्। त्यसको पृष्ठ ५९१ देखि ५९४ मा विष्णुमाया समेटिएकी छन्। त्यसको शीर्षक छ, ‘पिस कर्पस् इन्फ्लुअन्स चेन्ज्ड माई लाइफ।’

म्याकग्र हिल प्रकाशन सन् १८८८ मा जेम्स एच म्याकग्र र जोन ए हिलले स्थापना गरेका थिए। यसका पाठ्यपुस्तकहरू अमेरिकामा मात्र होइन, विश्वका सयभन्दा बढी मुलुकका हाईस्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छन्। सन् २०२० को तथ्यांकअनुसार यो पब्लिकेसनका पाठ्यपुस्तक किन्ने ४३ लाखभन्दा बढी विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षक–प्राध्यापक छन्। एघार सयभन्दा बढी शिक्षण संस्थाहरू यसका विशेष प्रयोगकर्ता छन्। यो यति ठूलो संस्था हो कि, जसमा ५ हजार ८ सयभन्दा बढी कर्मचारी छन्।

‘दि राइटर्स माइन्डसेट’ को मूल्य ८६.६७ अमेरिकी डलर छ। डिजिटल कपी भने ४५ डलरबाट उपलब्ध हुन थाल्छ। यो पाठ्यपुस्तकमा विश्व चर्चित ५२ व्यक्तित्वको आलेख र जीवन कहानी समावेश छ। विष्णुमायाको अनुभूति ‘पर्सनल ग्रोथ’ खण्डमा राखिएको छ।

दुर्गम जिल्लाको गरिब दलित परिवारबाट विश्व विख्यात बनेकी विष्णुमायाकोे जीवनकथा धेरैका लागि प्रेरणादायी ऊर्जा बन्नेछ। अन्न ज्यालामा घर–घर लुगा सिलाउँदै पुग्ने बाबुको पेसा थियो। आमा कनमाया बालबच्चा धान्नै हम्मे पर्ने हालतमा थिइन्। छाक टार्न सधैं धौ–धौ थियो। ‘तैपनि बुवा आमा शिक्षा भनेपछि मरिमेट्नुहुन्थ्यो। स्कुलको शुल्क तिर्न नसक्दा वा कथित उपल्ला जातिले दुव्र्यवहार गर्दा पनि उहाँहरू सहेर पढ्न सल्लाह दिनुहुन्थ्यो’, उनी ती दिन सम्झन्छिन्, ‘त्यही सहनशीलता सफलताको द्योतक हो। यसको श्रेय बुवा–आमालाई जान्छ।’

गोरखाको उनी पढ्ने स्कुलमा पिस कर्पका जोन बुकरमान एक शिक्षक थिए। सन् १९९० मा उनको अवधि सकियो। त्यतिबेला उनी ९ मा पढ्थिन्। पढाइमा अब्बल भएकाले जोनले उनलाई खुबै माया गर्थे। ‘तिमीले एसएलसी पास गर्‍यौं भने म उच्च शिक्षामा कुनै न कुनै ढंगले अवश्य सहयोग गर्नेछु’, विष्णुलाई यति आश्वासन दिएर उनी अमेरिका फर्किए। सन् १९९२ मा उनले एसएलसी सकिन्। हुलाकमार्फत् आफ्नो सफलताको सन्देश जोनसम्म पुर्‍याइन्। जोनले खबर पठाए, ‘काठमान्डु गएर पढ्न थाल्नू, म पैसा पठाउँला।’

त्यही भरोसामा उनी गोरखाबाट काठमाडौं आइन्। आफन्तकहाँ बस्न बुवा–आमाले भन्नुभएको थियो। ‘उहाँहरूको बिजोग देखेर आफैं केही गर्ने अठोटसाथ म निस्किएँ’, उनले भनिन्, ‘केही दिन होटलमा भाँडा माझेँ। गार्मेन्टमा काम गरेँ। गार्मेन्टको चिसो भुइँमा कति रात गुजारें।’

जोनले पठाएको आश्वासन मात्र आयो, पैसा आएन। अन्ततः मुखै खोलेर भन्ने हिम्मत बटुलिन्। एउटा पीसीओमा गएर अमेरिकामा फोन गरिन्। कुरो त अर्कै रहेछ। पठाएको पैसा अर्कैले झ्वाम पारिरहेको रहेछ। जब त्यो थाहा भयो, जोनले अर्का साथी पामसँग सम्पर्क गराए। पाम युनिभर्सिटी अफ विस्कन्सिनका तर्फबाट काठमाडौंमा बसेर दूर शिक्षा पढाउँथे।

उनीहरू दुवै जना मिलेर विष्णुमायालाई ७ सय अमेरिकी डलरको छात्रवृत्ति दिए। ‘त्यो मेरा लागि यति ठूलो भयो कि, त्यतिन्जेलका सबै खर्च जोड्दा पनि शायद मैले त्यत्रो रकम देखेकी थिइनँ होला’, उनले भनेकी छन्, ‘यसले मलाई उच्च शिक्षामा सहयोग मात्र पुर्‍याएन, आत्मविश्वास बढाउनसमेत मद्दत गर्‍यो।’

आईए सकिन्। बीए सक्ने तरखरमा थिइन्, साथीकी आमा इभा कासेल काठमाडौं आइन्। त्यसले उनको जीवनमा भाग्यको नयाँ घुम्ती ल्याइदियो।

‘छोरी, तिमी मसँग अमेरिका जान्छ्यौ पढ्न ?’ इभाले प्रस्ताव राखिन्।

‘ओहो’, विष्णुमायाले भनिन्, ‘पाए त जाने थिएँ।’

सन् १९९९ मा अमेरिका पुगिन् उनी। एक वर्ष अंग्रेजी भाषा सिकिन्। अर्को वर्ष पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो। त्यहाँको पढाइमा उनी सर्वोत्कृष्ट भइन्। कलेजको प्रेसिडेन्ट कप अवार्ड जितिन्। उनले पाइन म्यानर कलेजबाटै सन् २००४ सोसल एन्ड पोलिटिकल सिस्टममा ब्याच्लर्स डिग्री गरिन्। र, बोस्टनको क्लार्क युनिर्भसिटीबाट छात्रवृत्तिमा स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरिन्।

विष्णुमाया अमेरिकाको न्युजर्सीमा बस्छिन्। घरेलु हिंसाविरुद्ध आउटरिच कोअर्डिनेटरका रूपमा कार्यरत छिन्। उनी अमेरिकाको जर्सी सिटीको रोजगारी र तालिम समितिमा सदस्य छिन्।

यसअघि उनले न्युजर्सीका मेयरको सल्लाहकार समितिमा रहेर काम गरेकी थिइन्।

उनले सन् १९९८ मा एसोसिएसन अफ दलित वोमिन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) नामक गैरसरकारी संस्था खोलिन्। यस संस्थाले वित्तीय स्वयत्ततामार्फत महिलालाई र शिक्षाका माध्यमबाट बालबालिकालाई सशक्तीकरण गर्छ। एड्वानले हालसम्म ५० हजारभन्दा बढी नेपाली महिला र बालबालिकालाई सहयोग गरिसकेको छ।

उनका संघर्षशील सत्कार्यको सम्मानस्वरूप सन् २००६ मा संयुक्त राष्ट्रसंघले ५ हजार डलरसहित ह्युमन राइट्स अवार्ड प्रदान गरेको थियो। सन् २००७ मा वल्र्ड बैंकको ११ हजार डलर राशिको अवार्ड पनि उनले पाएकी थिइन्। त्यति मात्र होइन, सेप्टेम्बर २७, २०१५ मा अमेरिकाको केन्टुकी लुइजभिल नगरले ‘डा. विष्णुमाया परियार डे’ का रूपमा भव्यतासाथ मनायो। यस्तो सम्मान पाउने कमै नेपाली हुन्छन्।

संघर्ष, सफलता, मानव सेवा विष्णुमायाका परिचायक हुन्। उनका उल्लेख्य कार्यको सम्मानमा उनैले पढेको पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेड (वियोन्ड दि पीएचडी) ले उपाधि प्रदान गरेको थियो। त्यसयता उनले आफ्नो नामअघि डाक्टरसमेत थपेकी छन्।

उनी जहाँसुकै भन्ने गर्छिन्, ‘नोथिङ इज इम्पोसिबल अर्थात् असम्भव भन्ने केही छैन।’

उनले चढेका सफलताका सिँढी गन्दा वास्तवमा होजस्तो लाग्छ– प्रतिबद्ध भएर लाग्ने हो भने असम्भव भन्ने केही हुन्न रहेछ। त्यसको उत्तर स्वयं डा. विष्णुमाया हुन्।

याे खबर अखण्ड भण्डारीले अन्नपूर्ण पाेष्टका लागि लेखेका हुन् ।