गोरखा नगरपालिका भित्रका विद्यालयहरु भाद्र २८ गतेदेखि सञ्चालन गर्न अनुमति

सोमवार, भदौ २१, २०७८

भदाै, २१ गाेरखा । गोरखा नगरपालिका भित्र रहेको विद्यालयहरु भाद्र २८ गतेदेखी सञ्चालन गर्न पालिकाले अनुमति दिएको छ ।
आइतबार नगरपालिकामा बसेको नगर शिक्षा समितिको बैठकले आगामी सोमबारदेखि बिद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

बैठकले हाल सञ्चालनमा रहेको वैकल्पिक सिकाइ सहजीकरण क्रियाकलालाई निरन्तरता दिदै आउदो सोमबार देखि २५० जनासम्म विद्यार्थी भएका विद्यालय तथा शिक्षालयहरुले विद्यालयमा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्वेश्य र क्रियाकलापहरु तोकिए बमोजिमको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सञ्चालनको अनुमति दिएको हो ।

२५० जना भन्दा बढी बिद्यार्थीहरु भएका विद्यालय तथा शिक्षालयहरुले भने बिद्यालय ब्यवस्थापन वा सञ्चालक समितिबाट कार्यविधी स्विकृत गराई एक पटकमा ४ घण्टाको समयावधी नघट्ने गरी बिद्यालय तथा शिक्षालयमा भौतिक उपथितिमा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्वेश्य र क्रियाकलापहरु गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न भनेको छ ।

गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र खड्काका अनुसार गोरखा नगरपालिका भित्र ४९ सामुदायिक विद्यालय र १८ निजी विद्यालयहरु छन् । त्यसमा करिब १६ हजार विद्यार्थीहरु अध्ययनरत रहेको खड्काले बताए ।