साहित्य

टुक्का साहित्य समाजकाे नियमित टुक्का कविता लेखन अभ्यास अन्तर्गत परिवर्तन विषयमा २० सर्जकहरूद्वारा सिर्जना गरिएका केही टुक्काहरू

By मनासलु

September 07, 2021

१. दुख्छ मुटु भित्र भित्रै खोइ कहाँ देखिन्छ, व्यवहारमा छैन परिवर्तन लेखिन्छ। २. परिवर्तित मनले नै देश बेचेका छन् बुझियो प्रष्ट, मान्छे तिनै थिए मुखुण्डो भिरेर हिँडेका हिजोका भ्रष्ट। ✍️ पौडेल विमुन्स, पाेखरा

१. ऋतु जस्तै मान्छेकाे मन परिवर्तन किन? स्वार्थी बनेर धाेका दिनले मान्नु पर्ने घिन । २. पुराना ती कुसंस्कारलाई आजै देखि त्यागाैं, समयकाे माग बुझी प्रगतिपथमा लागाैं। ✍️ ताराप्रसाद चापागाईं

१. छल छाम नगरी परिवर्तन गरौँ, प्रगतिशील विचार राखी अघिसरौँ। २. समाजमा रहेको जातीय विभेदलाई, हटाउँनै पर्छ सबै मिलेर दाजु भाई। ३. देश विकासमा बाधा पुराउँने तगारा, पन्छाएर हातेमालो गरौँ नेपाली सारा। ४. छैनन् कतै बोक्सी छ भने मलाई सिकाऊ, कँहाछन् तिनै झाँक्री का मन्त्र के हुन् देखाऊ। ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही १८

१. समय अनुकुल वातावरणमा परिवर्तन आउँछ , कहिले खुसी त कहिले दुःखी भई निरासपना छाउँछ l २. घाम पानीको ठेगान हुँदैन हेर कहिल्यै, एकदिन मरिजानु छ बुझ्नुपर्छ जहिल्यै l ३. जीवनमा उतारचढाव धेरै आइरहन्छ, समय अनुसार परिवर्तन छाइरहन्छ l ✍️ रिता खराल ,रुपन्देही

१. चालजस्ताे ढुक्ढुकीकाे निरन्तर चल्ने , मिर्मिरेकाे सुरुआत साँझ हुँदै ढल्ने। २. दिन रात माैषम र ऋतु चरणकाे , किन छ परिवर्तन् जीवन मरणकाे । ३. हिजोआज भाेलिपर्सी भन्दाभन्दै जान्छ , समयकाे नियतिले कहाँसम्म लान्छ । ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

१. नफेरौँ यी मन समय परिवर्तन भए सरि , गर्नुपर्छ सङ्घर्ष आफैले बाँच्न यो जीवन भरि । २. हिजो घाम आज पानी दिन परिवर्तन भयो, कोइलीको गीत सुन्दा हृदय निकै रुँदै छ यो । ✍️ कल्पना थामी , सिन्धुपाल्चोक

१. जतन गरौँ हाम्रो धर्म संस्कृति र परम्परा, परिवर्तन गर्नु हुन्न पौराणिक कला धरा। २. समयको बेग सँगै तिमी बदलिएर गयौ, पराई मान्छे चुने पछि तिमी बेईमानी भयौ। ३. एकै नास हुन्न हजुर मौसम बदलिरहन्छ, तर तिमी नबदलिनू मेरो मनले यसो भन्छ। ✍️ नवशिला बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर।

१. त्यागौँ पुरातन नराम्रो सोच, गरौँ नयाँ चिन्तन,          गर्दैनन् भलो कसै इनले फेरौँ बरु आफ्नै मन। २. त्यत्रो त्याग गरेर बलिदान ल्याए नौलो शासन,           भोकै छन् आज सबै जनता मिल्दैन खोई रासन । ✍️ सूर्य मणि रेग्मी, चितवन।

१. व्यवस्था फेरियो शासक फेरिए अवस्था फेरिएन, आफन्त हेरियो ढुकुटी हेरियो जनता हेरिएन । २. हिजो जो गरिब थियो आज भएको छ झनै भिखारी, आर्तको पक्षमा बोल्ने तिनै वाहक नै भए शिकारी । ३. परिवर्तन आफैंमा राम्रो मानिन्छ सकारात्मक हुनुपर्यो, सुन्दर त्यो हावाले गरिब दुखी र आर्तको मन छुनुपर्यो। ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ

१. जडता राम्रो होइन परिवर्तन प्रिय हुनु पर्छ, अग्रगामी सोचले नै सधैँ अघि बढ्न मद्दत गर्छ। २. हेर कल्कलाउँदो जीवन पनि मरेपछि जलाउँछन् , पातहरू पहेंलिएर झरेपछि नै नयाँ पलाउँछन्। ३. दिन-वार,सप्ताह-महिना गर्दै वर्षै परिवर्तन हुन्छ, अपरिवर्तित पुरातन सोचले कसको मन पो छुन्छ? ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

१. व्रह्माण्डमा ’परिवर्तनको नियम’ छ कडा किन नहोस जहाँ कथित देवकै अखडा ! २. जो परिवर्तन नकार्दै नियम छल्छ, त्यो आफ्नै जडतामा निर्जीव लास जल्छ! ३. जीवनको गतिलाई जसले हुन्छ झुमेको, उसैले हुन्छ कीर्तिमानको शिखर चुमेको। ✍️भूषण जंग, अष्ट्रेलिया

१. जति नै परिवर्तन गरेपनि शान्ति छैनन् जनता, हामी नेपालीलाई कहिल्यै जागेन मनमा ममता। २. सरकार परिवर्तन भइरहन्छ नेपालमा, बिदेश नीति एउटै गर्दा के बिग्रिन्छ विचारमा । ✍️ भगवती दवाडी, झापा

१. चुलामा दाउरा नठाेसी बल्दै बल्दैन, ठाक्क ठुक्क नगरी व्यवहार चल्दैन। २. नेताले भ्रष्ट नगरे जनताको छाक टर्छ , परिवर्तन ल्याउन आन्दोलन गर्नैपर्छ । ✍️ अम्बिका गिरी , विराटनगर

१. जीउ फेरियो,रूपफेरियो,फेरिएन लुटिखाने दाऊ, गरीव दु:खी कोही छौ भने, मेरो पछि आँखा चिम्ली आऊ। २. दुहुनु पर्छ लैनागाईको काड्नु पर्छ छाली, परिवर्तन त्यसै हुन्न घ्यूमा हात नहाली। ✍️ होम प्र, नेउपाने , धरान,सुनसरी

१. बुझेका छन् सबैले देश लुटिएको, जनताका ती आशाहरू भुटिएको। २. पसिनाको मूल्य छैन कत्ति दिएको दिनुपर्छ किन मनमा नलिएको। ३. संसार जित्छु एक्लै जस्तोलाग्थ्यो परिवर्तन भए आसा जाग्थ्यो । ✍️ दुर्गा आचार्य

१. परिवार परिवार मिलेर नै गाउँ समाज देश बन्छ, परिवर्तन को लागि नेताले कहिले जनतालाई गन्छ। २, परिवार मिलाउनत व्यक्ती विशेषले नै गर्छ, देश स्वाबलम्बी बनाउन त नेताले गर्नु पर्छ। ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

१. पहिले समाज हैन आफुलाई परिवर्तन गरौंँ त्यस पछि असल व्यवहारले सबैको मन भरौँ। २. समय सधैं परिवर्तनशील नै हुन्छ, बिस्तारै सुबिचारले सबैको मन छुन्छ । ✍️ दुर्गा भट्टराई , मोरङ

१. राजनीतिमा नेताहरूकाे चरित्र नै फेरिएन, बाढी पीडित जनताकाे अझै नि दु:ख हेरिएन। २. दिन महिना वर्ष आज भाेलि भन्दै उमेर नै जान्छ , यस्तै तेराे मेरा भन्दा भन्दैमा बुढेसकालले लान्छ। ✍️ शाेभा अर्याल , रुपन्देही १४ बुटवल

1.समय महिना दिन मान्छे परिवर्तन भयो , तर व्यवहारहरू चाहिँ भएन कता गयो । ✍️ बेदु न्यौपाने, काठमाडाैें

१. पहिला आँफु अनि परिवार परिवर्तन गर्नुछ, गाउँ शहर जहाँ छ घर घरमा मिठास भर्नुछ। २. मुखले मात्र हैन समाज सेवा काम गरेर देखाउँनेछु, अनाथ बालबालिकाहरूलाई स्कूलमा नाम लेखाउँनेछु। ३. हेर्नुस् नेताले फोस्रा भाषणमा फसाउँछ जनतालाई, यदि जिते भने जागिर दिन्छु भन्छ आफ्नै ममतालाई। ✍️ कमला पाण्डे पराजुली, झापा