Breaking News

सार्वजनिक सवारीसाधनकाे भाडादर वृद्धि, जनतालाइ थप आर्थिक भार

By मनासलु

September 25, 2021

असाेज, ९ काठमाडौ । सरकारले शनिबार रातिदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले शनिवारदेखि देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो । भाडा वृद्धिले जनतालाइ थप आर्थिक  भार परेकाे छ ।

भाडादर समायोजन गर्ने निर्णयानुसार शनिबारदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ। विगतमा सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ।

हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ।

विभागले छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ। नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ। काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ।

विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ। विभागले यात्रुबाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीसाधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको छ।