दुई लाईनमा अक्षरसंख्या बराबर गरी तुक् (अन्त्यानुप्रास) मिलाएर लेखिने चाेटिला कविता नै टुक्का कविता हुन यसकाे उन्नयनमा टुक्का साहित्य समाज र टुक्का अभियन्ता समुहका सदस्यहरू लागि परेका छन्। समुहबाट दैनिक अभ्यास, विशेष अवसरका अभ्यास श्रृङ्खलाहरू, विभिन्न प्रतियाेगीताहरू तथा सामाजिक कार्यहरूमा समेत सक्रिय रहँदै आएकाे छ। १. के हुन्छ भोलि भन हे मुरारी मर्नै छ पर्ने यस देह हारी। २. इच्छा हजारौँ मनमै हराए उत्साह मार्ने जन मात्र आए। ३. आशा भरोसा किन निभ्न थाल्यो मेरो दियो हेर उसले पो बाल्यो। पौडेल विमुन्स, पाेखरा
१. अनिश्चित छ भविष्य त्याे भाेलि के कहाँ हुन्छ, आकाश छेड्छु भन्ने बाँस नुहेर भुई छुन्छ। २. मर्नु छ एक दिन कसले के लान्छ, जसरी आयाे उस्तै खाली हात जान्छ। ३. लाेभ लालच अनि आशा सास रहे सम्म, असन्तुष्ट मान्छेकाे मन भरिँदैन टम्म। तारा प्रसाद चापागाई धुनिबेशी
१ कर्ममा विश्वास गरे फल मिल्ने गर्दछ हे शिष्य देशको माहोल हेर्यो भने अनिश्चित छ भविष्य। २ देश हाँक्नेले भनिदिनु पर्यो वास्तविकता दृश्य, के कारणले जनताको भयो अनिश्चित भविष्य। ३ छिमेकी आउने गर्छन् यता छद्म भेदी भेषमा, “अनिश्चित भविष्य”लाई सफल पार्न देशमा। पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
१. फेरी दिन्छ रूप बग्ने खोलीले कस्तो रूप देला हेरौं भोलिले । २. भोलि भनेर समय कत्ति नफाल खेर हिँड आजै बाट सत्यको मार्ग समातेर । ३. दिन फिर्न सक्छ भोलि मेरो पनि कति दिन्छौ पिडा दुःखी छ यो भनी । ४. भाग्य लुकेको छ अहिले देखिंदैन हत्केलाले सूर्य छेकेर छेकिंदैन । ५. समय हो सधै समान कसैको छैन बलेको दियो सधैँ जगमग हुदैन । इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३, कपिलवस्तु
१. यो नश्वर चोला हाम्रो त्यसै खिएर फाल्न हुँदैन, कर्म अधुरोछ उपदेश सुनेर मन रुँदैन। २. देह खेर जान्छ जादैन केही साथमा अनिश्चित छैन यहाँ, यदि कर्म गर्न छोड्यौ भने पाप मात्र निश्चित हुनेछ त्यहाँ। ३. भाग्यमा छैन निश्चित निन्द्रामा परिराख्यौ भने तिमीले, दु:ख कष्ट आज मलाई एकदिन रूदै भन्छन् यिनीले। कमला पाण्डे पराजूली, झापा
१• जीवन यस्तै हो बगिरहने खोला, आज सम्म ठीकै छ भोलि कसो होला, २• भविष्य देख्ने यन्त्र बनेको छैन, ज्योतिषी हेराई भरपर्दो हैन। घनश्याम पौडेल, सृजना चोक पोखरा
१. जे गर अहिले गर पछि त के हुन्छ खुसी हुन्छ अथवा आँसुले मुख धुन्छ। २. भविष्य नै थाहा भए किन दुःख भोग्थे पत्तै नपाई आफ्नो इमान किन जोग्थे। धनुष न्यौपाने, जुम्ला
१ विगतका यादहरुमा रम्दै छु साँझ, चाहना छ भाेलि उफ्रिने सगर माझ। २ भोगेको छैन कसैले कहीँ स्वर्गीय विपनी, छर्दै कर्म समाजहितमा अस्ताऊँ जीवनी । धनु शर्मा, पाेखरा
१. केके हुन्छ भोलिका दिनमा ठ्याक्कै जान्दछ कसले, अन्योलमा छ जोतिष भविष्य बताउँछ जसले । २. हालत हेर्दा चिन्ता लाग्दछ के होला देशको हाल? स्वाधीनता हाम्रो नटिक्ने पो होकि त आउँदो साल ? ३. निजी स्वार्थमै लिप्त छन् जहिले पहुँचवाला सारा, देशको चिन्ता रत्तिभर छैन हुन्छन् लेण्डुपे पारा । ४. धितो राखेर आमालाई तन र मन शरणमा कहिलेसम्म लम्पसार खै पराईको चरणमा । ५. कतिन्जेल माग्ने भीक झुकिकन सुनको थालीमा, बिन्ती फिराऊ दृष्टिगोचर नेपाल र नेपालीमा । वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
१. जन्मेपछि मृत्यु निश्चित तर तिथिमिति अनिश्चित, लोभ त्यागी एउटा काम भए पनि गरौँ राष्ट्रहित। २. आजको काम आजै गरौँ भोलि आउँछ,आउन्न, आफ्नो अनुकूल अरूले गीत गाउँछ,गाउन्न। म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
१. भविष्य निश्चित छैन् देह छ पक्कै नश्वर, कर्म सर्व श्रेष्ठ छ भन्छन् गीतामा ईश्वर। २. भविष्य अनिश्चित छ भन्दैमा नसुत साथी, परिश्रम आज गर भोलि तिमी पुग्छौ माथि। ३. जुन कुरा निश्चित छैन् त्यसैको पछि लाग्छौ, घोर निन्द्राबाट चैं कहिले कसरी जाग्छौ? अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
१. घुम्दछ आँखा वरिपरि भविष्यका अनेकौँ दृष्य थाहा पाएरै पनि सबैको अनिश्चित छ भविष्य । २. अनिश्चित छ मान्छेको वर्तमान अनिश्चित भविष्य सुखी जीवन बिताउन बन्नुछ आज असल शिष्य । ३. अन्योलपूर्ण भविष्य बोकी म कतै लम्किरहेछु भविष्य खोज्न कहाँ जाऊँ मनमनै गम्किरहेछु । रचना शर्मा प्रतीक्षा , ललितपुर ।
१. हिजो कहाँ आयाे र आज भाेली पाे कहाँ अाउँछ , हरेक दिनले भविष्यमा छुट्टै स्थान पाउँछ । २. बिगत भयाे ईतिहास बर्तमान चै आज , कसले भन्न सक्छ भाेलि कसकाे हुन्छ राज । ३. अनिश्चित जाे भविष्यकाे चिन्ता गर्ने हैन , जतिसक्दो आजै गर हीनता बाेक्नु छैन । ४. सुनिश्चित छैन भविष्यमा के के बिघ्न हुन्छ , बिगत हैन खट्न सके बर्तमानले छुन्छ । रामकृष्ण दुवाडी, पाेखरा ।
:::::: जय टुक्का! जय साहित्य!! ::::::