जिल्ला प्रशासन कार्यालय गाेरखाले पायाे ‘ए’ ग्रेड

आइतवार, भदौ २७, २०७८

गाेरखा । नेपाल सरकार गृह मन्त्रालयले गरेको वार्षिक कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गोरखाले ए ग्रेड पाएको छ ।

गृह मन्त्रालयले गृह प्रशासन सुधार योजनाअन्तर्गत जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र प्रमुख जिल्ला अधिकारीविच वार्षिक कार्यसम्पादन सम्झौता गरेको थियाे ।

। गत आर्थिक वर्ष २०७७/७८ मा भएको कार्यसम्पादनका आधारमा जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मुल्याङ्कन  गोरखा जिल्ला प्रशासनले ‘ए’ ग्रेडिङ पाएको हो ।

गोरखा सहित १४ जिल्ला प्रशासनले ए ग्रेड प्राप्त गरि उत्कृष्ट भएका हुन् । झापा, अर्घाखाँची र रुकुम पूर्वले भने ए प्लस ग्रेड प्राप्त गरि सर्वोत्कृष्ट भएका छन् ।

मन्त्रालयले अति उत्कृष्ट, उत्कृष्ट, उत्तम, मध्यम र न्यून गरि पाँच समूहमा कार्यसम्पादन मुल्याङ्कन गरेको थियाे । कार्यसम्पादन मुल्याङ्कनमा १८ जिल्ला उत्तम, २१ जिल्ला मध्यम र बाँकी २१ जिल्ला न्यून स्तरमा परेका छन् ।

गृह मन्त्रालयले सफ्टवेयरको सहयोगमा ६ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, विपद जोखिम व्यवस्थापन र समन्वय, आर्थिक आधार लगायतलाई सूचकको रूपमा लिइएको हुन्छ ।

विषेश गरि शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई ४० अंक दिएर मुख्य सूचकको रूपमा मूल्यांकन गर्ने गरिएको छ ।  जिल्लाको सुरक्षा, यातायात अवरोध खुलाउने, सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय तथा निरीक्षण र निर्देशन, बाल सुधार गृह अनुगमन निरीक्षण, अवैध हातहतियार, अपराध नियन्त्रणलाई मुल्याङ्कनको आधार मान्ने गरिएको छ ।

जिल्लाको अपराधलाई सुक्ष्म अध्ययन गरेर त्यसलाई नियन्त्रणमा राख्नका लागि सचेतना कार्यक्रमहरू, अन्य जनचेतना कार्यक्रमहरू, अन्तरजिल्ला समन्वय, शान्ति सुरक्षा, राष्ट्रिय परिचय पत्र, सेवा प्रवाह, नागरिकतासम्बन्धी उजुरी र त्यसको निकास, सूचनाको हक र जिल्लामा भएका संघ–संस्थाको निगरानी तथा उनीहरूसँगको समन्वय लगायतका विषयहरू मुल्याङ्कनको आधार हुने गर्दछ ।