काँग्रेसका नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिए

बिहिबार, असाेज २१, २०७८
जिल्ला निर्वाचन अधिकृतबाट प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित सभापति नन्द प्रसाद न्याैपाने

गाेरखा । नेपाली काँग्रेस गोरखाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण आज सम्पन्न भएको छ । बुधबार निर्वाचनको अन्तिम परिणाम घोषणा भएसंगै आज बिहान सदरमुकाम स्थित जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमका बिच नवनिर्वाचित पार्टी जिल्ला सभापति सहित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

जिल्ला निर्वाचन अधिकृत देवकुमार महतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका भएको काँग्रेस गोरखाका सचिव कृष्ण बहादुर आले मगरले बताए ।  ‘निर्वाचन समितिबाट निर्वाचन जितेका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण प्रमाण पत्र बितरण संगै निवर्तमान कार्य समितिबाट पदहस्तान्रण कार्यक्रम पनि सम्पन्न भएको छ ।’ उनले भने ।

नेपाली काँग्रेस गोरखा जिल्ला समिति अन्र्तगत नन्दप्रसाद न्यौपाने जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका थिए ।मतदानबाट जिल्ला उपसभापतिमा घिरन थापा र इमान सिंह बस्नेत , सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा, सह–सचिवमा लुमनाथ लामिछाने र गंगाप्रसाद अधिकारी बिजयी भएका थिए ।

अधिकांश जिल्ला समितिका सदस्यहरु पनि सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिए । गोरखा जिल्लाबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएकाहरुलाई समेत आज नै प्रमाण पत्र बितरण गरिएको उनकाे भनाइ छ ।