गण्डकी प्रदेश साक्षर घाेषणा

सोमवार, असाेज २५, २०७८

पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आइतबार साक्षर घोषणा गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

‘चार वर्षसम्म साक्षरता दर अझै बढाउन विभिन्न कार्यक्रम भइरहेका थिए । त्यही कार्यक्रममार्फत साक्षरता दर अहिले ९६.५७ पुगेको हो,’ उनले भने । गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले यसअघि नै साक्षर घोषणा गरिसकका थिए ।

पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।

शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६ दशमलव ३५, स्याङ्जा ९६ दशमलव १६, कास्की ९६, तनहुँ ९६ दशमलव चार, बाग्लुङ ९६ दशमलव ५७, मनाङ ९६ दशमलव नौ, गोरखा ९७ दशमलव दुई, म्याग्दी ९६ दशमलव २७ र पर्वत ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भइसकेको मन्त्रालयले जनाएको छ ।

गएको भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । सरकारले सबै नागरिकलाई साक्षर बनाउन र विद्यालय जाने उमेरका पाँच वर्षमाथिका बालबालिकाका लागि विद्यालय भर्ना अभियान गएको वर्ष सञ्चालन गरेको थियो । पन्ध्र वर्ष वा त्यसभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई न्यूनतम साक्षर बन्ने अवसर प्रदान गरी साक्षर नेपाल घोषणाको नीति सरकारको रहेको छ ।

यस अघि बागमती प्रदेश साक्षर घाेषणा भैसकेकाे छ ।