रुइला पुग्ने सडक निर्माणकाे काम अघि बढ्याे, ३१ किलाे मिटर ट्रयाक खुल्याे, ७१ कराेड खर्च

सोमवार, मंसिर ६, २०७८

गाेरखा । तिब्बतबाट नेपालका लागि सबै भन्दा नजिककाे नाकाकाे रुपमा रहेकाे रुइला भञ्ज्याङ आरुघाट सडक खण्ड निर्माणकाे काम अघि बढेकाे छ ।आरुघाट गाउँपालिकाको हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको घट्टेखोलासम्म ३१ किलोमिटर सडकको ट्रयाक तयार भएको छ । २०७४ साल बैशाख १४ गतेदेखि काम सुरु गरेको नेपाली सेनाले तीनवर्षमा उक्त ट्रयाक खोलेको हो ।

अहिले नेपाली सेनाका एक सय ८० र मजदुर एक सय १४ जनाले सडक निर्माणको काम गरिरहेका निर्माण कार्यदलका प्रमुखले बताएका छन् ।  सेनाले ९२ किलोमिटर सडकको ट्रयाक खोल्ने गरी जिम्मा लिएर काम सुरु गरेको हाे।

गठबन्धनकाे सरकारले आए लगतै १५ कराेड रुपैयाँ बजेट निकासा भएकाे र त्यसबाट सिर्दिवास खण्डमा काम भइरहेकाे नेपाली सेनाले जनाएकाे छ । आठ मिटरकाे सडक ट्रयाक खाेल्ने काम भइरहेकाे हाे । १५ कराेड रुपैयाँ फागुन महिना सम्म खर्च गरिसक्ने सेनाकाे भनाइ छ । कडा चट्टान फाेडेर आठ मिटर चाैडा सडक निर्माण कार्य कठिन रहेकाे र जाेखिम उठाएर काम गरिरहेकाे सेनाले जनाएकाे छ ।

प्राेककाे नामरुङ सम्म सडक पुर्याउन कठिन रहेकाे र त्यस भन्दा माथि काम गर्दा छिटाे गतिमा सडक अघि बढ्ने र लागत पनि कम हुने सेनाकाे अनुमान रहेकाे छ । निर्माण थालेदेखि नै बजेट अभावका कारण हाल सम्म ४ वर्ष पुग्दा ३१ किलाेमिटर ट्रयाक खुलेकाे छ । बजेट अभाव नभए ताेकिएकाे समयमा काम सम्पन्न गर्ने सेनाले जनाएकाे छ ।

सरकारका अर्थमन्त्रीले बजेट कम हुन नदिने बताउँदै सेनालाइ निरन्तर काम गर्न निर्देशन गरेका गाेरखाका साँसद हरीराज अधिकारीले बताए । अर्थमन्त्रीसँग यस क्षेत्रका माननीय सहित भेट गरेर बजेट कम हुन नदिने अनुराेध गरे लगतै १५ कराेड निकासा भएकाे सेनाले जनाएकाे छ । वीचमा बजेट अभाव भएका कारण देखाउँदै काममा अवराेध भएकाे र अहिले काम द्रुत गतिमा अघि बढेकाे छ ।

माछाखाेलामा यसै वर्ष पक्कि पुल

माछा खाेलामा यसै वर्ष पक्कि पुल निर्माण हुने भएकाे छ । बाटाे निर्माण गरिरहेकाे सेनाले पुल निर्माणकाे काम थालनी गरेकाे हाे । पुल बनाउन सरकारले बजेट दिएकाले काम अगाडि बढेकाे सेनाकाे भनाइ छ ।

रुइला सडक पुर्याउन सेना प्रतिबद्ध

२०८२ साल सम्म सडक रुइला पुर्याउन सेना अझै प्रतिबद्ध रहकाे र त्यसका लागि गाप,स्याला र सामागाउँमा क्याम्प राखेर कामलाइ अगाडी बढाउने सेनाकाे तयारी छ । बजेट अभाव नहुँदा काममा अवराेध नहुने सेनाका अधिकारीहरुकाे भनाइ छ । अधिकाँश स्थानमा ब्लाष्ट गर्नुपर्ने भएकाले सडक निर्माणकाे काम खर्चिलाे भएकाे हाे ।

सडक विभागले २०६५ सालमा गरेकाे डिटेल सर्वेमा ३ अर्व ८२ कराेड खर्च हुने जनाएकाे थियाे । हाल सम्म ३१ किलाे मिटर सडक निर्माणका लागि ७१ कराेड खर्च भएकाे छ ।